राज्यकोषबाट तलब खाने कर्मचारीले भोट मागे कारबाही !

नेपालगन्ज : बाँकेमा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले राज्यकोषबाट सेवा सुविधा लिने कर्मचारीले कुनै पनि दलको भोट माग्ने र मतदाता प्रभावित गर्ने अभिव्यक्ति दिए कारबाही हुने बताएका छन् ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालयले शुक्रबार नेपालगन्जमा आयोजना गरेको स्वच्छ, निष्पक्ष तथा भयरहीत निर्वाचनका लागि सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तरसंवाद कार्यक्रममा प्रजिअ खत्रीले सरकारी कर्मचारी दलको चुनावी प्रचारमा लागेको प्रमाणसहितको उजुरी परे कारबाही हुने बताए । उनले भने, ‘हामीले सरकारी कर्मचारीलाई निर्देशन दिएका छौं, तिम्रो काममा विवाद आए जागिर पनि जान सक्छ ।’
उनले निर्वाचनमा भारतीय गाडी चलाएमा नियन्त्रणमा लिन पनि सुरक्षा निकायलाई निर्देशन दिएको बताए । उनले विदेशी नं. प्लेटका गाडीमा दलका झण्डा, ब्यानर वा पर्चा पाइएमा कारबाही हुन्छ । बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जिल्लामा सुरक्षा समस्या नै नभएको जिकिर गरे । उनले हतियारको प्रयोगबाट कुनै पनि घटना नभएकाले अहिलेसम्म जिल्लामा शान्ति सुरक्षा मजबुत नै भएको दाबी गरे । कार्यक्रममा नागरिक समाजका अगुवा, अधिकारकर्मी, पत्रकारले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सरोकारवाला सबैको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका थिए ।