नाका शील : जमुनाहामा आधारकार्ड भए भारत जान र नागरिकता भए नेपाल आउन छुट

नेपालगन्ज : प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर बिहीबार राति १२ बजेदेखि नेपालगन्जको जमुनाहा सीमा नाका शील गरिएको छ ।

नाका शील भनिए पनि भारतबाट स्वदेश फर्कंदै गरेका ठूलो संख्यामा नेपाली शुक्रबार साँझसम्म जमुनाहा नाका भेटिए । त्यत्तिकै संख्यामा भारतीय नागरिक पनि घर फर्कंदै गरेको भेटिए । सीमा रहेको सशस्त्र प्रहरीले भारतबाट आउनेसँग नागरिता र भारततिर जानेको आधार कार्ड हेरेर आउन र जान दिएको थियो ।

नियमित रुपमा रुपैडियामा खरिददारी गर्ने बाहेकका नेपाली र भारतीयको शुक्रबार ओहोरदोहोर चलिरहेको थियो । कोही औषधि किन्न रुपैडिया गइरहेका थिए । सीमा नाका शील गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीद्वारा हस्ताक्षरित सूचना जमुनाहा नाकाको फलामे बारमै टाँसिएको छ ।