डुडुवा गाउँपालिका अध्यक्ष हारेका भण्डारीलालले प्रदेश सभा सदस्य जितेर बदला लिए

रमेशकुमार यादव । कम्दी
बाँके क्षेत्र नं. २ (१) प्रदेशसभा सदस्यमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का भण्डारीलाल अहिर निर्वाचित भएका छन् । अघिल्लो कार्यकालमा डुडुवा गाउँपालिका ३ मा वडाध्यक्ष निर्वाचित भएर आफ्नै पैसाले वडाको विकास गरेका अहिर गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा डुडुवा गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । उनी निकटतम् प्रतिद्वन्द्वी भएका थिए । गाउँपालिका अध्यक्ष हारेपछि जसपाले उनलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको थियो । मंगलबार साँझ सम्पन्न मतगणनामा अहिर ११ हजार ५०४ मत ल्याएर निर्वाचित भए । उनले एमाले उम्मेदवार विजयबहादुर यादवलाई दुई हजार १४६ मतान्तरले पराजित गरेका थिए । यादवले ९ हजार ३५८ मत ल्याएका थिए । नेपाली कांग्रेसका राजकुमार कुर्मीले आठ हजार ७३१ मत ल्याएका थिए ।