सालाको हत्या गरेर फरार भिनाजुद्वारा आत्मसमर्पण

मानबहादुर ठकुल्ला । भजनी
कैलालीमा हँसिया प्रहार गर्दा सालाको हत्या गरेको अभियोग लागेका भिनाजुले २४ घण्टापछि प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार जोशीपुर गाउँपालिका–६ कुमारीबागका ३३ वर्षीय साला पदमराज भण्डारीको मंगलबार राति हँसिया प्रहारबाट हत्या गरेर फरार भएका ५० वर्षीय गौरीलाल ढुङ्गानाले इलाका प्रहरी कार्यालय सडकपुर बौनियामा आत्मसमपर्ण गरेका हुन् । अभियुक्त ढुङ्गानालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडमा राखिएको प्रहरीले जनाएको छ । घरायसी विवाद हुँदा ढुङ्गानाले हंसिया प्रयोग गरी पदमराजको हत्या र ४० वर्षीय जयराज भण्डारीलाई घाइते बनाएका थिए । घाइते जयराजको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।