चौथोबाट एक वर्षमै खेल सुधारेर खड्काले जिते नेपालगन्ज म्याराथनको उपाधि (क-कसले जिते)

नेपालगन्ज : नेपाली सेनाका धावक खड्गबहादुर खड्काले आठौं धारा नेपालगन्जको उपाधि जितेका छन् ।
एक वर्षअघिको खेलमा ब्यापक सुधार गर्दैसातौैं नेपालगन्ज म्याराथनमा खड्का २ घण्टा ३३ मिनेट ४५ सेकेन्डमा दूरी पार गरेर चौथो भएका थिए । उनले एक वर्षको अन्तरमा खेल व्यापक सुधार गर्दै चौथो स्थानबाट उक्लेर ११ मिनेट अघि नै लक्ष्य पूरा गरेर उपाधि चुमेका छन् । शनिबार नेपालगन्जमा सम्पन्न दौडमा खड्काले २ घण्टा २० मिनेट २९ सेकेण्डमा ४२.१९५ किलोमिटरको दुरी पूरा गर्दै प्रथम स्थान हासिल गरेका हुन् । उनले अघिल्लो वर्षका विजेता एपीएफका किरण सिंह बोगटी भन्दा ९ मिनेट छिटो दूरी पूरा गरेका छन् । बोगटीले २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा दूरी पूरा गरेर उपाधि जितेका थिए । यो वर्षको म्याराथन विजेता खड्काले एक लाख ५० हजार रुपैंया र प्रमाण पत्र पाए ।
सेनाका खेलाडीद्वय नरेन्द्र रावतले २ घण्टा २२ मिनेट ३० सेकेन्डमा दूरी पार गरेर दोस्रो भए । अघिल्लो वर्षभन्दा खेलमा सुधार गरेर पनि रावतले दोस्रोमै चित्त बुुझाउनु परेको छ । सातौंमा रावतले २ घण्टा ३३ मिनेट २८ सेकेन्डमा दुरी पार गरेर दोस्रो भएका थिए ।
सेनाका मोहनदेव जोशीले २ घण्टा २४ मिनेट ३७ सेकेण्डमा दूरी पूरा गरेर तेस्रो भएका थिए । २ घण्टा ४१ मिनेट ५७ सेकेण्डमा दूर पूरा गर्दै कमलराज तिमिल्सैना चौथो भए । दोस्रो भएका खड्काले ६० हजार, तेस्रो भएका जोशीले ३० हजार र चौथो भएका तिमिल्सैनाले २५ हजार रुपैयाँ पाए । पाँचौं रैवत दाहाल, छैठौं यामदेव राई, सातौं बाल सुनार र आठौं स्थानमा विकास यादव यादव आएका थिए । पाँचौ, छैठौं, सातौं र आठौंलाई क्रमशः १० हजार, ८ हजार, ७ हजार र ६ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
महिलातर्फ हाफ म्याराथनमा सागकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले उपाधि जितिन् । उनको यो लगातार दोस्रो उपाधि हो । २१ किलोमिटरको दूरी श्रेष्ठले एक घण्टा १६ मिनेट ३६ सेकेण्डमा पूरा गरेर प्रथम भएकी हुन् । श्रेष्ठले पनि अघिल्लो प्रतियोगिताभन्दा खेलमा सुधार गरेकी छन् । सन्तोषीले अघिल्लो म्याराथनमा एक घण्टा १८ मिनेट ४८ सेकेन्डमा दूरी पूरा गरेकी थिइन् ।
भारत देहरादूनकी अञ्जली चौहानले एक घण्टा २५ मिनेट १५ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो र एक घण्टा ३६ मिनेट ४४ सेकेण्डमा दूरी पूरा गरेर अञ्जु खड्का तेस्रो भइन् । विन्दु हमाल चौथो, संगिता विष्ट पाँचौं, यमुना थापा छैठौं, सीता गुरुङ सातौं भए । हाफ म्याराथनमा प्रथमलाई ६० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५, चौथोलाई १० हजार, पाँचौंलाई ८ हजार, छैठौंलाई ७ हजार र सातौंलाई ६ हजार रुपैयाँ प्र्रदान गरियो ।
१० किलोमिटर पुरुष खुला दौडमा मुकेशबहादुर पाल प्रथम, भुवन राना दोस्रो र सुशील रामजाली मगर तेस्रो भए । उनीहरुले क्रमशल् ३० हजार, १५ हजार र १० हजार रुपैयाँ पाए । ५ किलोमिटर महिला खुल्लामा राजपुरा पछाइ प्रथम, राममाया बुढा दोस्रो र विमला कार्की तेस्रो भए । उनीहरुलाई क्रमशः २० हजार, १० हजार र ७ हजार रुपैयाँ दिइयो । ५ किलोमिटर छात्रमा अतुल गोडिया प्रथम, सन्तोष विक दोस्रो केशरजंग रायमाझी तेस्रो भए । ३ किलोमिटर छात्रामा नेहा सापकोटा प्रथम, दीपशिखा शाही दोस्रो र निर्मला सिँजापति तेस्रो भए । ह्वीलचियरमा यत्रबहादुर खत्री प्रथम, महेश चौधरी दोस्रो र प्रज्वल शाही तेस्रो भए । कर्पोरेट रनमा योगेन्द्र मल्ल प्रथम, सन्दीप गुरुङ दोस्रो र दुर्गा गहतराज तेस्रो भए । किड्स रनमा दीपेश भण्डारी प्रथम, राजन पुनमगर दोस्रो र अनिल कार्की तेस्रो भए ।