नरैनापुरका अतिक्रमित घरटहरामा पनि चल्यो डोजर !

नरैनापुर : बाँकेको नरैनापुर गाउँपालिकाले पनि अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन डोजर चलाउन सुरु गरेको छ ।
गाउँपालिकालाई व्यवस्थित गर्ने गुरुयोजना अनुरुप घरटहरा भत्काउन सुरु गरिएको वडा नं.१ का अध्यक्ष इसाक जोहलले बताए । महतिनिया गाउँबाट डोजर लगाएर घर भत्काउन सुरु गरिएको छ ।
गाँउपालिका क्षेत्र भित्र सार्वजनिक जग्गालाई मिचेर बनाइएका घर तथा अन्य पक्की संरचना गाँउपालिकाले डोजर लगाएर भत्काउने प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए । पहिलो चरणमा नरैनापुर १ र ४ मा गरी एक दर्जन घरमा डोजर लगाएर भत्काइएको छ ।बाँकी रहेका अनाधिकृत रुपमा बनाइएका घर टहरा समय सीमाभित्रै नहटाए डोजर लगाएर भत्काउन बाध्य हुने गाउँपालिकाले जनाएको छ । यसअघि कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाभित्र डोजर चलेको थियो ।