‘वीपीको मेलमिलापकोे नीति अझै सान्दर्भिक’

नेपालगन्ज : वीपी कोइरालाको मेलमिलापको नीति अझै पनि सान्दर्भिक भएको एक कार्यक्रमका वक्ताले बताएका छन् ।
नेपाली कांग्रेस बाँकेले शनिबार ४७औं राष्ट्रिय मिलमिलाप दिवसका अवसरमा नेपालगन्जमा आयोजना गरेको विचार गोष्ठीका वक्ताहरुले वीपीले अंगिकार गरेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका हुन् ।
नेपालका दलको आन्तरिक प्रजातन्त्र कमजोर भएको, एक पार्टी र अर्को पार्टीबीच गठबन्धनले सम्बन्धमा दरार आएको वर्तमान राजनीतिमा राष्ट्रियता जोगाउन कोइरालाले ४६ वर्षअघि गरेको उक्त निर्णय साहसीपूर्ण रहेको वक्ताहरुको भनाइ थियो । अहिलेको सन्दर्भमा पार्टीभित्र आपसी मेलमिलाप बढाएर सुदृढ संगठन निर्माणमा जुट्नुपर्ने आवश्यकतामाथि वक्ताको जोड थियो ।
नेपाली कांग्रेस बाँकेका कार्यवहाक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, राष्ट्रियसभा सदस्य युवराज शर्मा, नेका बाँकेका पूर्वसभापति कृष्णमान श्रेष्ठ, लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला), कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य टेकनारायण भुसाललगायतले मेलमिलाप नीतिको सान्दर्भिकताबारे बोलेका थिए ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् कांग्रेसका संस्थापक नेता वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा हरेक वर्ष पुष १६ गते मेलमिलाप दिवस मनाइन्छ ।