नेपालगन्जका यी ठाउँमा चलाउनुुुस् ‘फ्री वाइफाइ’

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले नगरमा फ्री वाइफाइ सेवा उपलक्ध गराएको छ ।
उपमहानगरका सूचना प्रविधि शाखा प्रमुख घनश्याम वर्माका अनुसार वीपी चोक, धम्बोझी चोक, चौलिका चोक, सेतु विक चोक, पुष्पलाल चोक, कारकाँदो चोक र भेरी अस्पताल क्षेत्रलाई ‘फ्री वाईफाई जोन’ बनाइएको हो । अब लगत्तै त्रिभुवन चोक, राँझा चोक, गणेशमान चोक र ट्राफिक चोकमा निःशुल्क वाइफाइ सेवा विस्तार गरिने उपमहानगरपालिकाले जनाएको छ ।
नगर प्रमुख प्रशान्त विष्टले मंगलबार ‘फ्री वाईफाई जोन’ को शुभारम्भ गरे । नगरलाई सूचना प्रविधि मैत्री बनाउँदै सर्वसाधारणलाई निःशुल्क इन्टरनेटको सुविधा दिने उद्देश्यले हाललाई केही मुख्य चोकहरुलाई फ्री वाइफाइ जोन’ बनाइएको नगर प्रमुख विष्टले बताए । उनले क्रमशः नगरका २३ वटै वडाभर निःशुल्क इन्टरेनट सुविधा पुग्ने गरी काम गर्ने आश्वासन दिए । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकसँगको सहकार्यमा उपमहानगरपालिकाले निःशुल्क वाईफाईको सेवा सुरु गरेको हो ।