बागेश्वरीको दोस्रो महाआरती अझ भव्य र व्यवस्थित

नेपालगन्ज : बागेश्वरी मन्दिर नेपालगन्जमा सोमबार दोस्रो पटक महाआरती भव्य रुपमा सम्पन्न भएको छ ।
नाट्टा बाँके च्याप्टरले बागेश्वरी गुठी व्यवस्थापन समिति र नेपालगन्ज उपमहानगरपालिकालगायतसँगको सहकार्यमा बागेश्वरी मन्दिरको तलाउको पूर्वी किनारस्थित पार्कमा महाआरती गरेको हो । यसअघि १५ माघमा वेष्टर्न ट्राभल मार्टको अवसरमा भारतीय पर्यटनकर्मीसमेतको सहभागितामा पहिलो महाआरती गरिएको थियो ।

कोहलपुरको रामजानकी राधाकृष्ण संस्कृत गुरुकुलका तीन जना बटुकले शास्त्रीय विधि अनुसार आरती गरेका थिए । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट कर्ता भएर महाआरतीमा बसेका थिए । महाआरतीमा बाँके र बर्दियाका ठूलो संख्यामा भक्तजनहरु सहभागी भएका थिए । भक्तजनले बागेश्वरी माताको जय जयकार गरेका थिए ।

बागेश्वरी गुठी व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष ओमप्रकाश आजादले महाआरतीबाट भारतीय हिन्दु धर्मालम्वीहरुलाई आकर्षित गर्न सकिने बताए । कार्यक्रममा बागेश्वरी मन्दिरका महन्त चन्दनाथ योगीले महाआरतीले बागेश्वरी माताको महिमा अझ बढ्ने बताए । महाआरती गर्न नेपालगन्ज उपमहानगरपालिकाले सघाउने नगर प्रमुख प्रशान्त विष्टले प्रतिबद्धता जनाएका छन् ।

दोस्रो महाआरती भव्य हुने कारण
बागेश्वरी मन्दिरको दोस्रो महाआरतीमा व्यवस्थित गरिएको थियो । आरती गर्न अग्लो मञ्च बनाइएको थियो । आरती सबैले देख्न पाएका थिए ।

आरतीको दियो पनि लामो समयसम्म बलेको थियो । आरतीस्थल, भीआइपीको मञ्च र अन्य अतिथि बस्ने स्थानमा डोरीको बार लगाइएको थियो । भक्तजनहरु जथाभावी प्रवेश गर्न पाएका थिएनन् ।

यस पटक स्वयंसेवक पनि थिए । रक्षक सेक्युरिटीले सुरक्षाका लागि एक दर्जन सुरक्षाकर्मी खटाएको थियो ।

जसले भक्तजनलाई व्यवस्थित गराउन सघाएका थिए । पत्रकारका लागि छुट्टै स्थान निर्धारण गरिएको थियो । आरती स्थलमा दुई वटा दानपेटी राखिएका थिए । जहाँ भक्तजनले भेटी चढाइरहेका थिए । यस पटक पर्याप्त रुपमा फल प्रसाद थियो । कहाँ बाँडिन्छ भन्ने थाहा नपाएर भक्तजनहरु प्रसाद ग्रहण नै नगरेर फर्केका थिए ।

आरतीकै बीचमा र आरती सकिएपछि भजन मण्डलीले भजन गाएका थिए । बर्दियाबाट आएको महिला पुरुषको भजन मण्डलीको भजनले आरतीमा भव्यता थपेको थियो । महाआरतीका आयोजक नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले पहिलो भन्दा दोस्रो आरती व्यवस्थित भएको र कमि कमजोरी सुधार गर्दै आगामी दिनमा अझ भव्यता कायम गर्ने बताउँछन् ।