मधुवनका किशोरकिशोरीले बनाए बालविवाहविरुद्ध योजना

नेपालगन्ज : बर्दियाको मधुवन नगरपालिकाका किशोरकिशोरीहरुले बालविवाहबिरुद्धको विभिन्न योजना बनाएका छन् ।
किशोरकिशोरीहरुले कुनै दाताको सहयोग बिना स्वस्फूर्त रुपमा २ महिनाभित्र सम्पन्न गर्ने गरी बालविवाहविरुद्धका ६ वटा योजना बनाएका हुन् । मधुवन नगरपालिकाको वडा नं. ३ को ओराली बजारमा सडक नाटक, नेरामावि धनौरामा बालविवाह विरुद्धको सचेतनामूलक कार्यक्रम र सिमल चोकमा महिनावारी स्वच्छता र सरसफाइ सम्बन्धी कार्यक्रम आयोजना गर्ने सृष्टि रोका मगरले बताइन् ।
उनीहरुले मधुवन नगरपालिकाको वडा नं. ५ बले चोकमा सडक नाटक, विद्यालयमा बालविवाहविरुद्धको वक्तृत्वकला र सोही वडामा बालविवाह न्यूनिकरणका लागि घरदैलो कार्यक्रम आयोजना गर्ने निर्णय गरेको कार्यक्रम संयोजक अनुराधा चौधरीले बताइन् । ‘हामीले तीन वटा योजनाका लागि झन्डै सात हजार रुपैयाँ लाग्ने अनुमान गरेका छौं । त्यो रकम आफ्नो पकेट खर्च कटाएर संकलन गर्नेछौं ।’ कार्यक्रममा किशोरकिशोरीहरुले स्थानीय जनप्रतिनिधि, प्रहरी, शिक्षक विद्यालय र नागरिक अगुवाहरुलाई सहभागी गराउने जनाएका छन् ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा बी ग्रुप नेपालगन्जले मधुवन नगरपालिकाको कुुसुम्बा बजारमा मधुवनको वडा नं. ३ र ५ का २० जना किशोरकिशोरीलाई नेतृत्व विकास तालिम दिएको थियो । मेरो खुसी डटकमका सम्पादक तथा अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका उप–सम्पादक शंकरप्रसाद खनालले तालिममा सहजीकरण गरेका थिए ।