किशोरीलाई नेतृत्व विकास र राजनीतिक साक्षरता तालिम

नेपालगन्ज : बाँकेका किशोरी र महिलाका लागि तीन दिने नेतृत्व विकास र राजनीतिक साक्षरता सम्बन्धी क्षमता अभिवृद्धि तालिम नेपालगन्जमा सुरु भएको छ ।
नेपाल लिडरसीप एकेडेमीको आयोजनामा शुक्रबारदेखि तीन दिने तालिम सुरु भएको हो । तालिममा नेपालगन्ज उपमहानगरपालिकाका पूर्व–उपप्रमुख उमा थापा मगरले राजनीतिक साक्षरताका विषयमा सहजीकरण गरेकी थिइन् ।

उनले महिला, महिलाको संवैधानिक र कानुनी अधिकार, समानता, समता, समावेशीता, नेपालमा समावेशीताको अभ्यासबारे जानकारी गराएकी थिइन् । उनले भनिन्, ‘नेपालमा पछाडि परेका र पछाडि पारिएकाहरुका लागि समावेशी बनाउन कानुनी रुपमै व्यवस्था छ । समावेशीताको टाठाबाठाले मात्र अवसर पाएका छन् ।’

कार्यक्रममा नेपाल लिडरसीप एकेडेमीको प्रोजेक्ट लिडर पूजाकुमारी वैश्यले समाजका हरेक क्षेत्रमा महिलाको सहभागिता न्यूून भएकाले क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनी भन्छिन्, ‘किशोरी र महिलाको क्षमता विकास गरेर घरको र समाजको नेतृत्व लिन सक्ने बनाउने हो ।’ तालिममा बाँकेको नेपालगन्ज, खजुरा, जानकीलगायतका स्थानीय तहका २५ जना किशोरी र महिलाको सहभागिता रहेको छ ।