पाटेश्वरी विद्यालयमा २ कोठे भवन शिलन्यास
नेपालगन्ज : बाँकेको पाटेश्वरी आधारभूत विद्यालय नेपालगन्जको कक्षा कोठा भवनको शिलन्यास गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका १८ भुजइ गाउँमा रहेको विद्यालयको २ तले भवनको आइतबार नेपालगन्ज-१८ का वडाध्यक्ष दीपककुमार वर्मा र जग्गादाता बजरंग कुर्मीले वैदिक विधि अनुसार पूजा गरेर संयुक्त रुपमा भवन शिलन्यास गरेका हुन् । भवन शिलन्यास गर्दै वडाध्यक्ष वर्माले आफ्नो वडामा रहेका विद्यालयको शैैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासमा वडा, उपमहानगरपालिका, प्रदेश र संघीय सरकारको सहयोगमा काम गरिरहेको बताए ।
पाटेश्वरीको दुई कोठे भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारको २१ लाख ४० हजार रुपैयाँको लागतमा माथिल्लो तलामा २ कोठा बन्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवराम वर्माले बताए । कक्षा ७ सम्म सञ्चालनमा रहेर आगामी शैक्षिक शत्रदेखि कक्षा ८ सञ्चालनको तयारीमा रहेको विद्यालयलाई अझै पनि कक्षा कोठाको अभाव नै छ । अहिलेसम्म विद्यालयमा ६ कक्षा कोठा मात्र छन् ।
विद्यालय बनाउन दाताको ठूलो योगदान रहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवराम वर्माको परिवारले ६ कठ्ठा र बजंरंग कुर्मीको परिवारले दान दिएको दुई कठ्ठा गरी विद्यालय ८ कठ्ठा क्षेत्रफलमा रहेको छ ।
छात्रवृत्ति वितरण
पाटेश्वरी आधारभूत विद्यालयले वडाध्यक्ष वर्माको उपस्थितिमा शैक्षिक शत्र ०७९/८० को छात्रवृत्ति पनि वितरण गरेको थियो । विद्यालयका प्रधानाध्यापक भृकुटी तारा शाहीका अनुसार लक्षित समुदायका विद्यार्थीलाई जनही चार सय रुपैयाँका दरले वितरण गरिएको हो । विद्यालयमा कक्षा ७ सम्म पढाइ हुन्छ ।