५० राष्ट्रिय खेलाडी उत्पादन गर्ने ‘स्प्रिङ डेल’का आधारभूत तहका २५० विद्यार्थीलाई पौडी तालिम

नेपालगन्ज : बाँकेको स्प्रिङ डेल एकेडेमी नेपालगन्जले आधारभूत तहका विद्यार्थीलाई पनि पौडी तालिम दिएको छ । नेपालगन्जको थ्री स्टार होटल स्नेहामा गत आइतबारबाट तीन दिनदेखि नर्सरीदेखि कक्षा ३ का विद्यार्थीलाई पौडी तालिम दिएको हो ।

बुधबार कक्षा ४ र ५ का विद्यार्थीलाई पनि पौडी तालिम दिने कार्यक्रम रहेको छ । विद्यालयका प्रिन्सिपल शरद चन्द्र रावलका अनुसार नर्सरीदेखि पाँच कक्षाका २५० जना विद्यार्थीलाई चार दिन पौडी तालिम दिने लक्ष्य छ ।

प्रशिक्षक चन्द्रराम चौधरीले विद्यार्थीलाई पौडी खेल्न सिकाएका थिए । औसत ३२ डीग्री सेल्सियसभन्दा माथि तापक्रम मापन भइरहेको नेपालगन्जमा गर्मी चर्किंदै गर्दा पौडी खेल्न पाएपछि विद्यार्थीहरु निकै खुसी भएका छन् । मंगलबार दिउँसो मेरो खुसी टिम पुुग्दा स्वीमिङ पुलमा विद्यार्थीहरु निकै रमाइरहेका थिए ।

स्प्रिङ डेल लुम्बिनी प्रदेशमै पौडीमा अब्बल विद्यालय हो । विद्यालयबाट नेपालगन्जमा सम्पन्न ८औं आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १५ जना र यो वर्ष पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १० गरी २०७६ सालयता विद्यालयका ५० जना खेलाडीले राष्ट्रिय पौडी प्रतियोगितामा भाग लिइसकेको प्रिन्सिपल रावलले जानकारी दिए ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशबाट १७ जना खेलाडी छनोट भएकोमा १५ जना त स्प्रिङ डेलका मात्र थिए ।