साइकलमा आलु बेच्न आएका भारतीय टीकापुरमा ब्राउन सुगरसहित पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरबाट लागूर्आषध ब्राउन सुगरसहित अर्का भारतीय नागरिक पनि पक्राउ परेका छन् ।
प्रहरीले चौकी कालाकुण्डाका प्रहरी नायव निरीक्षक डेनीबहादुर स्वाँरका अनुसार साइकलमा आलु बेच्न र कवाडी संकलन गर्न आउने भारतीय नागरिक नै लागूर्आषध ओेसारपसारमा सक्रिय रहेको रहस्य खुलेको छ । बुधबार प्रहरी चौकी कालाकुण्डाबाट डियुटीमा खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका वडा नं. ७ स्थित सडक खण्डमा कालो रंगको साइकल चलाएर आउँदै गरेको भारत उत्तर प्रदेश जिल्ला लखिमपुर खिरी, तिकुनिया थाना सैनखेरा अमिरखापुरुवा बस्ने वर्ष २६ को सहबान खाँलाई रोकी शरीर तथा साइकलको तलासी गर्दा निजले साइकलको पछाडि बाँधेर राखेको आलुको बोराको किनारमा सिलाएर राखेको अवस्थामा कालो रंङको प्लाष्टिकको पोकामा दुई ग्राम ६९० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको हो ।
दुईदिन अघि मात्रै टीकापुर नगरपालिका वडा नं. ७ सोनाफाँटामा भारतको लखिमपुरखिरी जिल्ला तिकुनिया बस्ने वर्ष २० को सतीश रानालाई चार ग्राम ८८० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको थियो । पक्राउ गरेका भारतीयलाई इलाका प्रहरी कार्यालय टीकापुरमा राखेर थप अनुसन्धान भइरहेको इप्रका प्रमुख प्रमुख डीएसपी उद्बव भाटले बताए ।