नेपालगन्जमा निःशुल्क विशेषज्ञ आयुर्वेद शिविर 

नेपालगन्ज : निःशुल्क विशेषज्ञ आयुर्वेद तथा उपचारात्मक योग शिविर नेपालगन्जमा सम्पन्न भएको छ ।
नेपालगन्ज उप-महानगरपालिका आयुर्वेद शाखाको आयोजना र नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको प्राविधिक सहयोगमा शनिबार सम्पन्न भएको उपचारात्मक योग शिविरमा ३ सय ५० भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन् ।
नेपालगन्ज उप-महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्दै निःशुल्क विशेषज्ञ आयुर्वेद शिविरलाई उप–महानगरको २३ वटै वडामा सञ्चालन गरिने बताए । उनले भने,‘नागरिकलाई स्वास्थ्य राख्न हाम्रो परम्परागत उपचार पद्धति आयुर्वेदको महत्वपुर्ण भुमिका रहन्छ । यो कार्यक्रम निकै राम्रो छ । आज १० नम्बर वडाबाट यसको सुरुआत भएको छ । अब हामी सबै वडामा शिविरको आयोजना गर्नेछौं ।’

नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका अध्यक्ष मैकुलाल वाल्मिकीले आमनागरिकमा आयुर्वेदको बारेमा सकारात्मक सन्देश प्रवाह गर्न शिविर आयोजना गरिएको बताए । शिविरमा बिरामीहरुलाई कन्सल्टेन्ट शल्यविज्ञ डा. मदन भण्डारी, कन्सल्टेन्ट पञ्चकर्मविज्ञ डा. निर्मल भुसाल, डा. शिवराज सुवेदी, डा. प्रतिभा केसी गौतम, डा. गीता रेग्मी, डा. विजयकिशोर ठाकुर सहितको टिमले स्वास्थ्य परीक्षण गरेको थियो ।