पाटेबाघको प्रचारमा राष्ट्रिय युवा संघ नेपाल !

नेपालगन्ज : नेपालगन्जका भित्ता र ब्यानरमा पाटेबाघ छ । झट्ट हेर्दा वन्यजन्तु संरक्षणको कार्यक्रमको झल्को दिन्छ तर नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको सोमबारदेखि नेपालगन्जमा सुरु हुने नवौं राष्ट्रिय महाधिवेशनका लागि बनाइएको लोगोमा नौ अंकको गोलाकार घेराभित्र पाटेबाघको टाउकोे आकृति राखिएको हो ।
लोगोमा बाघ किन राखिएको हो ? महाधिवेशनको तयारीबारे जानकारी दिन आइतबार बिहान नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मेरो खुसीको जिज्ञासामा संघका अध्यक्ष किरण पौडेलले विश्वमै लोपोन्मुख वन्यजन्तु संरक्षित क्षेत्रमा महाधिवेशन आयोजना गर्दा बाघ संरक्षणको सन्देश देशैभरी दिन लोगो बनाइएको बताए । उनले इको सिस्टम जोगाउन पनि बाघ संरक्षण गर्र्न जरुरी रहेको बताए ।

एमाले पोलिट व्युरो सदस्य तथा युवा फाँट इन्चार्ज महेश बस्नेतले त युवा संघ युवाहरुको बाघ संगठन हो भनेर चिनाउन पनि बाघको लोगो राखिएको तर्क गरे । युवा संघले महाधिवेशनको लोगोमा बाघ राखेर प्रचार गरेकाले देशैभरी बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको बाघको प्रचार प्रसार भएको रुपमा लिन थालिएको छ ।
महाधिवेशनमा देश र विदेशबाट गरी दुई हजार प्रतिनिधि सहभागी हुँदैछन् । सोमबार दिउँसो २ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालगन्जको होटल स्नेहमा महाधिवेशनमा उद्घाटन गर्नेछन् । उद्घाटन समारोहलाई भव्य बनाउन १० हजार जनालाई सहभागी गराउने लक्ष्य रहेको संघका अध्यक्ष किरण पौडेलले बताए ।