सहिद तथा बेपत्ता परिवारलाई राजापुर नगरद्वारा पशुपालन गर्न जनही एक लाख सहयोग

नेपालगन्ज : बर्दियाको राजापुर नगरपालिकाले सशस्त्र द्वन्द्वका सहिद तथा बेपत्ताका परिवारलाई पशुपालन गरेर आयआर्जन गर्न एक लाख रुपैयाँका दरले सहयोग दिन सुरु गरेको छ ।
नगर प्रमुख दीपेश थारुका अनुसार नगरका सहिद तथा बेपत्ताका परिवारलाई बाख्रापालन र भैंसीपालन गर्न जनही एक लाख रुपैयाँका दरले सहयोग गरेको हो । पशुपालन गर्ने उनीहरुलाई सात दिने तालिम दिइरहेको छ । नगर प्रमुख थारु आफ्नो पाँच वर्षे कार्यकालमा नगरका सबै सहीद र बेपत्ताका परिवारलाई आयआर्जनका लागि सहयोग गर्ने बताउँछन् । राजापुरले द्वन्द्वका पीडितलाई सहयोग गरेको कुराको अहिले प्रशंशा भइरहेको छ । जिल्ला द्वन्द्व पीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीले फेसबुक स्टाटसमा नगर प्रमुख उपप्रमुखलाई धन्यवाद दिँदै लेखेका छन्, ‘धन्यवाद मेयर ज्यु र उपमेयर ज्यु । सधैं परिवारको साथमा रहनुहोला । इतिहासमा तपाईहरुको उच्च मूल्यांकन हुनेछ ।’
राजापुर नगरपालिकाले कानुन बनाएर सहिद तथा बेपत्ताका परिवारलाई गरेको सहयोग देशका अन्य स्थानीय तहका लागि पनि अनुकरणीय हुने देखिन्छ ।