भारतको मुम्बइ नेपालीलाई बिरानो हुँदै

वीर गोर्खाली भनेर चिनिने नेपालीप्रति मुम्बइमा विश्वास घट्दै, नौकरी पाउन लागि तीन कार्ड ( आधार, रासन र प्यान) अनिवार्य

 मानबहादुर ठकुल्ला । मुम्बई (भारत)

‘एक बैरी बम्बैको सेठ, अर्को बैरी नीन !
तेस्रो बैरी माया जाल, चौथो बैरी रीन !!’
कर्णाली र सुदूरपश्चिम प्रदेशमा लोकप्रिय देउवाको यो टुक्का जस्तै हाल भएको छ अहिले भारतको मुम्बइमा बस्ने नेपालीको । पश्चिम नेपाल बासीको रोजगारी पाउने थलोको रुपमा रहेको मुम्बइ सहरमा बेरोजगार भएर नेपाली भौतारिरहनु परिरहेको छ । ती मध्येका एक हुन्, कैलालीको टीकापुर नगरपालिका-९ खक्रौला घरका दीपक धामी । धामी दुई तीन सातादेखि मुम्बइका सहर र गल्ली रोजगारी खोज्दै डुलिरहेका छन् । १५-२० दिनदेखि कामको खोजीमा रहेका रहेका धामी आफन्तको खोली (कोठा)मा बसिरहेका छन् । कुन बेला जागिर पाउने अझैं पत्तो नै छैन । धामी मात्र होइन, मुम्बइ पुगेका नेपालीलाई अहिले काम पाउन हम्मे हम्मे परिरहेको छ ।


टीकापुर नगरपालिका-७ घर भइ भारत मुम्बइ सहरको बसई रहेका जगत बुढा नेपालीले नौकरी पाउन मुस्किल हुन थालेको बताउँछन् । नेपालीलाई नौकरी दिन तीन वटा कार्ड (आधार कार्ड, रासन कार्ड, प्यान कार्ड) अनिवार्य माग्ने गरेको महेन्द्रनगर घर भइ मुम्बइमा वाचम्यानको नौकरी गरिरहेका दीपक बोहराले बताए । यी कार्ड नेपालीले सजिलै पाउँदैनन् । लामो समयदेखि मुम्बइमा बसेका आफन्तले साक्षी बसेर विभिन्न कागजात पेश गरेपछि मात्रै पाउँछन् । तीन कार्ड हुनु भनेको भारती य नागरिक भएको मानिन्छ । तीन कार्ड भएपछि भारत सरकारले दिने हरेक सेवा सुविधा समेत पाउनसक्छ भने यहाँ हुने विभिन्न निर्वाचनमा समेत सहभागी हुने अधिकार हुन्छ ।

भारतका कुनै पनि राज्यमा नेपाली नभएको ठाउँ नै छैन । पहिले पहिले नेपालीहरुलाई वीर गोर्खाली भन्थे । वीर मात्र होइन, इमान्दार र मेहनतीको पनि पहिचान बनाएकाले जहाँ पनि जहिले पनि सजिलै नौकरी पाउँथे । घरखर्च चल्थ्यो । कमाइले घरजग्गा किन्थे । नेपालीलाई चौकिदारी, वाचम्यान, लेबर, मेसिन चलाउने लगायतका विभिन्न कम्पनीमा काम गर्ने गरेको मुम्बइस्थित गठित बान्निगढ ठकुल्ला सेवा समाजका अध्यक्ष लक्ष्मण ठकुल्लाले जानकारी दिए । भारतमा नेपालीको हक हितका लागि खोलिएका संघसंस्थाले आपत विपदमा परेका दाजुभाइलाई सघाउने गरेका छन् ।
आफुहरले कुनै नेपाली दाजुभाईलाई कुनै खालको दुःख परेमा सहयोगीको रुपमा काम गर्ने गरेको समेत ठकुल्लाले बताए ।आफुहरुले समूह बनाई रकम उठाउने गरेको र समस्या रहेका दाजु भाइ लाई समस्या को हेरेर सहयोग गर्ने गरेको र कोरोना कहरका बेलामा रोजगारि गुमाएका सयौ नेपाली दाजु भाईलाई सहयोग गर्न सफल भएको सुनाए ।
पछिल्लो समय केही नेपालीले बदमासी गरेका कारण मुम्बइ लगायतका सहरमा गोर्खालीप्रति विश्वास घट्दो क्रममा रहेको बान्निगढ ठकुल्ला सेवा समाजका जीतबहादुर ठकुल्लाले चिन्ता ब्यक्त गरे । उनले अगाडि थपे, ‘ भारतीय सेठहरु अहिले नेपालीहरु बदमासी गर्छन्, भन्छन् । केही नेपाली चोरीको अभियोगमा पक्राउ परेका छन् । त्यसैले वीर गोर्खालीलाई जबरजस्ती रुपमा बदमाश भनेर चित्रित गर्न थालिएको । नेपालीले धेरै सेवा गरेको मुम्बइ लगायतका सहर नेपालीका लागि बिरानो बन्दै गएका छन् ।’