विद्यार्थीलाई क्षयरोग सम्बन्धी अभिमुखीकरण
नेपालगन्ज : नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाले बाँकेमा विद्यार्थीलाई क्षयरोग सम्बन्धी अभिमुखीकरण गरेको छ । संस्थाले शुक्रबार नेपालगन्ज उपमहानगरपालिका ४ गणेशपुरमा रहेको एवीसी रेजिडेन्सी सेकण्डरी स्कूलका कक्षा १० का विद्यार्थीहरुका लागि अभिमुखीकरण गोष्ठीको आयोजना गरेको छ ।
गोष्ठीको पहिलो चरणमा संस्थाको बाँके शाखाका पूर्वअध्यक्ष पूर्णलाल चुकेले नेपाल क्षयरोग निवारण संस्था नेपालकै दोस्रो जेठो सामाजिक संस्थाको रुपमा २०११ सालमा दर्ता भएको स्मरण गर्दै क्षयरोग सम्बन्धी विभिन्न किसिमका प्रतिकारात्मक, उपचारात्मक सेवा उपलब्ध गराउँदै क्षयरोग विरुद्ध जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी गराए ।
गोष्ठीको दोस्रो चरणमा संस्थाका केन्द्रीय सदस्य सेमराज शाक्यले क्षयरोगको परिचय, लक्षण, रोग लाग्न नदिने उपाय, रोग लागेपछि यसबाट बच्ने उपायहरुका बारेमा विस्तृत चर्चा गरेका थिए । उनले पहिलेको समयमा क्षयरोगलाई महामरी रोगको रुपमा लिइन्थ्यो, रोग लागेपछि परिवार र समाजबाट टाढा राख्ने गरिन्थ्यो । तर अब विज्ञानका चमत्कारसँगै नियमित औषधि सेवन गरेमा रोग सदाका लागि निको हुन सकिने पनि शाक्यले बताए ।
शाक्यका अनुसार एक सातासम्म लगातार खोकी लागे, साँझ पख लगातार ज्वरो आउने, छाती दुख्ने, थकाई लाग्ने जस्ता लक्षण देखिएमा क्षयरोग हो भन्ने थाहा पाउनु पर्दछ । बाँके शाखाले आफ्नै भवनबाट निःशुल्क ल्याव सेवा, औषधी वितरण गर्दै आएको छ । सो अवसरमा नेपाल क्षयरोग निवारण संस्था, बाँकेका सहसचिव रचना श्रेष्ठ, सदस्यहरु सुन्दरलाल शाक्य, ज्ञानु श्रेष्ठ, जनकराम भण्डारी, पवन जायसवाल तथा विद्यालयका संस्थापक राजु ज्ञवाली, शिक्षिकाहरु ज्योति वैश्य, विन्दू शर्मा, गिरिश चन्द्र वर्मा लगायतको सहभागिता रहेको थियो । शाखाका सभापति बदरुद्दीन अन्सारीको अध्यक्षतामा सम्पन्न सो गोष्ठीमा उक्त विद्यालयका ३६ जना छात्रछात्रा तथा शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।