ठाकुरबाबाका सामुदायिक विद्यालय सुधार्न अद्यावधिक कार्ययोजना बन्दै

भुरिगाउँ (बर्दिया) : बर्दियाको ठाकुरबाबा नगरपालिकाभित्रका सामुदायिक विद्यालयको सुधार्न अद्यावधिक कार्ययोजना बनिरहेको छ ।
शिक्षा युवा तथा खेलकुद शाखा ठाकुरबाबा नगरपालिकाको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र भेरी वातावणीय विशिष्टता समूह (बी ग्रुुुप) बाँकेको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्ययोजनाको मुख्य उद्देश्य ठाकुरबाबा नगरपालिकाभित्र रहेका २३ वटा सामुदायिक विद्यालयहरुले शैक्षिक वर्ष २०८० देखि २०८४ सम्मको ५ वर्षे विद्यालय सुधारको सुधार योजना बनाइ विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउनु रहेको छ । यस्तै, ५ वर्षे विद्यालय सुधारका नीति तथा कार्यविधिहरु बनाएर लागू गरी विद्यार्थीहरुको शैक्षिक स्तरमा बृद्धि गर्ने र सबै विद्यार्थीहरुमा एकरुपता ल्याउनु रहेको छ ।

कार्ययोजना निर्माणका लागि शुक्रबार र शनिबार दुई दिने कार्यक्रममा ठाकुरबाबा नगरका २३ सामुदायिक विद्यालयका प्रधानाध्यापक, तथा , विद्यालयका शिक्षक कर्मचारी गरी ४६ जनाको सहभागिता रहेको थियो । ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख सीता भण्डारी, परीयोजना प्रमुख विर्खराज उपाध्याय, बी ग्रुपका प्राविधिक संयोजक लक्ष्मी शर्मा, फिल्ड सुपर भाइजर विमला रावत र माया खड्कालगायतको सहभागिता रहेको थियो ।
यसैगरी कार्यक्रममा यस अघिका विद्यालय सुधार योजनाको विश्लेषण तथा छलफल, विद्यालय सुधार योजनाको नयाँ खाका प्रस्तुती र छलफल समेत गरिएको थियो । शिक्षा क्षेत्रमा भएको विकेन्द्रिकरणलाई प्रभावकारी कार्यान्वयन गरि सेवा क्षेत्र भित्रका उमेर पुगेका वालवालिकालाई विद्यालयको पहुँचमा ल्याउन विद्यालयको मौजुता शैक्षिक र भौतिक स्थितिको मूल्याङ्कन गरी भावी रणनीतिको तर्जुमा गरि विद्यालयको सर्वोत्तम हितका लागि समुदायको सकारात्मक सहभागितामा जोड दिनुपर्ने र परियोनाबाट संचालन भएका कृयाकलापहरुको सस्थागत गर्नुपर्नेमा बि ग्रुप बाँकेका बालविवाह न्युनिकरण परियोजनाका प्रबन्धक बिर्खराज उपाध्यायले बताए । ठाकुरबाबा नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाले सार्वजानिक शिक्षा सुधारका लागि विभिन्न प्रतिबद्धना गरेको छ ।