थारु बैडावाले जडिबुटीबाट क्यान्सर निको पारेको दाबी

 

जोतपुर (बर्दिया) : एलोपेथिक औषधिको उत्पादन नहुँदै आदिवासी जनजाति थारुले जडिबुटीबाट दीर्घरोगको पनि उपचार गर्थे । थारुंमा बैडावाले जडिबुटीको काम गर्छन् । जडिबुटीमा आधारित यो उपचार पद्धति अझै पनि थारु बस्तीमा चलिरहेको छ ।
राजापुरका बैडावा रजमानले त क्यान्सर रोग पनि निको पारेको दाबी गर्छन् । अर्का बैडावा रामकृष्ण थारु त जडिबुटीमार्फत विभिन्न ठूला रोगहरु पनि समाधान भएको बताउँछन् । उनले अहिले फर्म दर्ता गरेर नै पत्थरी, मधुमेह, ब्लड प्रेसर जस्ता विभिन्न रोगको उपचार गरिरहेको बताए ।
युनिक नेपाल बर्दियाले बुधबार राजापुर नगरपालिका २ जोतपुरमा आयोजना गरेको भुइँह्यार र गुर्वा बैडावाबीच ज्ञान आदान प्रदान कार्यशालामा बैडावा रामकृष्ण र रजमानले थारु जातिमा वर्षौ पूरानो उपचार पद्धति अझै पनि लोकप्रिय र कायमै रहेको अनुभव सुनाएका हुन् ।
थारु समुदायमा भुइँह्यार, गुर्वा र बैडावाहरुको महत्वपूर्ण स्थान हुन्छ । गाउँको ठन्ह्वामा देशबन्ध्या गुर्वाले पूजापाठ गर्ने गर्दछन् । देशबन्ध्या गुर्वालाई भुइँह्यार पनि भन्ने गरिन्छ । उनीहरुले गाउँको साझा देवी देवताहरुको पूजाका साथै सम्हार्ने काम गर्दछन् । उनीहरुले नै विभिन्न लागोभागोको समस्या निवारण गर्छन् । थारु समुदायको प्रमुख धार्मिक स्थल ठन्ह्वामा रहेका देवीदेवताको बारेमा भुइँह्यारहरुलाई थाहा हुने गर्छ तर हाल थारु समुदायका व्यक्तिहरुमा भुइँह्यारी प्रथामा कम लागेको र बिस्तारै ज्ञान बिर्सिदै गएको अवस्था छ । तसर्थ यसबारे ज्ञान आदान प्रदान गर्न उनीहरुसँग कार्यशाला गरिएको थियो । यसैगरी सो कार्यशालामा थारु गुर्वाहरुमा रहेको मन्त्र संकलन कार्य पनि गरिएको थियो ।
युनिक नेपालले यस्ता महत्वपूर्ण ज्ञान संरक्षणका साथै युवा पिंढीलाई पनि सिकाउनुपर्ने भन्दै यो कार्यशालाको आयोजना गरेको युनिक नेपालका कार्यकारी अध्यक्ष प्रिमबहादुर थारु बताउँछन् ।
कार्यशालाको सहजीकरण संस्कृतिकर्मी तथा अनुसन्धाता पूर्वमन्त्री डा. गोपाल दहित, संस्कृतिकर्मी मीनराज चौधरी, साहित्यकार सोम डेमनडौरा र सामाजिक अभियन्ता जगतराम थारुले गरेका थिए । कार्यशालामा कैलाली र बर्दियाको गरेर ५२ जना देशबन्ध्या गुर्वा र गुर्वा बैडावाहरुको सहभागिता रहेको थियो ।

युनिक नेपालले थारु आदिवासी जडिबुटी ज्ञान र यसको अभ्यास नामका दुई वटा पुस्तक नै प्रकाशित गरेको छ । थारुले प्रयोगमा ल्याउने ४९५ वटा जडिबुटीको नाम (थारु, खस भाषामा र वैज्ञानिक), तिनको रंगिन फोटो, प्रयोग गर्ने विधिबारे सम्पूर्ण जानकारी पुस्तकमा समेटिएको छ ।