ढकालद्वारा लायन्स गभर्नरको पद बहाली

नेपालगन्ज : लायन्स क्लब इन्टरनेशनलका गभर्नर मुकुट ढकालले शनिबार पद बहाली गरेका छन् ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको कैलालीको धनगढीमा गत २७ फागुनमा सम्पन्न प्रथम कन्भेन्सनबाट लायन वर्ष २०२३-०२४ का लागि ढकाल डिष्ट्रिक गभर्नर निर्वाचित भएका थिए । उनी यसअघि फस्ट भीडीजी थिए ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एनका निवर्तमान गभर्नर सीबी चन्दले शनिबार नेपालगन्जमा एक भव्य समारोहबीच नवानिर्वाचित गभर्नर मुकुट ढकाललाई पद हस्तान्तरण गरेका थिए । गभर्नर ढकालले शनिबार नै नेपालगन्जको कारकाँदोस्थित जिल्ला सचिवालयमा पद बहाली पनि गरेका थिए । शनिवार नै फस्ट भीडीजी विनोदकुमार श्रेष्ठ, सेकेण्ड भिडिजी ज्ञानेन्द्र श्रेष्ठ, क्याबिनेट सेक्रेटेरी उमा थापा र क्याबिनेट टे«जरर तेजप्रसाद अधिकारीले पनि पद बहाली गरेका थिए ।


लायन्स क्लब इन्टरनेशनलका नवनिर्वाचित गभर्नर, पदाधिकारी र क्लब नेतृत्वको एक वर्षे कार्यकाल शनिबारबाट सुरु भएको छ । एक महिना अघिदेखि निर्वाचित भए पनि अंग्रेजी मिति जुलाइ १ देखि मात्र सन् २०२३-०२४ को औपचारिक कार्यकाल सुरु हुने लायन्समा प्रचलन रहेको छ ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एनमा आबद्ध काठमाडौंलगायत पश्चिम नेपालका ९० बढी क्लब अध्यक्षहरुलाई सम्बोधन गर्दै गभर्नर ढकालले आगामी एक वर्षे कार्यकालमा गर्नुपर्ने कार्ययोजना सुनाएका थिए ।