विवादमा महासचिव मतगणना, आन्दोलनमा साझा प्रजातान्त्रिक

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको महासचिव पदको मतगणनाप्रति असन्तुष्टि देखाउँदै साझा प्रजातान्त्रिक समूह आन्दोलित भएको छ ।
शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा समूहको निर्वाचन परिचालन समितिका संयोजक संजय थापाले पुनः मतगणना नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए । समूूहले शुक्रबार अपरान्हदेखि नेपालगन्ज उद्योग वाणिज्य संघको गेटमा ताला लगाएको छ । ‘पुनः मतगणनाबाट हामी शिलबन्दी गरिएका मत मात्र गणना गरौं भन्नेमा सहमत भइसकेका थियौं । आफ्नो पूर्व निर्णय उल्टाउँदै निर्वाचन आयुक्त टीकाजंग सिंहले एकलौटी रुपमा महासचिव निर्वाचित भएको घोषणा गर्नु भएको छ । यो हामीलाई मान्य हुने छैन’, संयोजक थापाले पत्रकार सम्मेलनमा भने, ‘हामीले महासचिव पदका लागि तालाबन्दी गरेका होइनौं । संघको विधि, विधान र प्रक्रिया अनुसार नभएकाले संघको इतिहासमा कालो दाग लाग्न नदिन मजबुरीका साथ तालाबन्दी गर्नु परेको हो ।’

संयोजक थापाद्वारा हस्ताक्षरित साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले शनिबार जारी गरेको विज्ञप्तीमा पनि निर्वाचन आयुक्तको क्रियाकलापले संघको निर्वाचन विवादित बनेको, महासचिवमा भीमबहादुर रानाभाट निर्वाचित भएको घोषणा गर्ने कार्य निन्दनीय र विधान विपरित भएको उल्लेख छ । समूहले पुनः मतगणना नगरिए सम्पूर्ण मतदान प्रक्रिया नै कैफियत भएको र बेइमानी भएको हुनसक्ने आशंका गर्दै मागहरु पूरा नभएसम्म निरन्तर आन्दोलनमा रहने उल्लेख छ ।
निर्वाचन आयुक्त टीकाजंग सिंहले संघको निर्वाचनमा महासचिव पदमा समावेशी प्यानलका भीमबहादुर रानालेसाझा लोकतान्त्रिक समूहका टंकप्रसाद शर्मालाई ६ मतको अन्तरले पराजित गरेर निर्वाचित भएको घोषणा गरेका थिए । रानाभाटले एक हजार ९२६ र उनका प्रतिद्वन्द्वी शर्माले एक हजार ९२० मत ल्याएको घोषणामा जानकारी गराइएको थियो । मतगणनामा धाँधली भएको भन्दै समूहले निर्वाचन आयुक्तलाई थुन्ने, उजुरी दिनेदेखि संघको कार्यालयमा तालाबन्दी गर्दै विरोध गरिरहेको छ । महासचिव पदको विवादकै कारण विजेताले खुसीयाली उत्सव र निर्वाचन आयुक्तले विजेताको सपथ ग्रहण गराउन सकेका छैनन् ।