टंक शर्मा भन्छन्, ‘म नै निर्वाचित महासचिव !’

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा टंकप्रसाद शर्माले आफू नै निर्वाचित महासचिव भएको दाबी गरेका छन् ।
निर्वाचन आयुक्त टीकाजंग सिंहले ६ मतले महासचिव पदमा पराजित घोषणा गरेका शर्माले आफू नैै निर्वाचित महासचिव भएको दाबी सहित उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा आइतबार परमादेश, अन्तरिम आदेशसहित उत्प्रेषण, र प्रतिषेधको आदेश माग गर्दै दायर गरेको रिटमा यस्तो दाबी गरेका हुन् । निर्वाचन आयुक्त सिंहको घोषणा अनुसार रानाभाटले एक हजार ९२६ र शर्माले एक हजार ९२० मत ल्याएका छन् । शर्माले रिट निवेदनमा भनेका छन्, ‘महासचिव पदमा मतदाताको मतबाट विजयी भएको म निवेदकलाई जवरजस्ती एवं गैरकानूनी रुपमा पराजित गराउने षडयन्त्र गरिएको छ ।’
शर्माले संघको निर्वाचन गराउनका लागि गठित निर्वाचन समिति, निर्वाचन आयुक्त अधिवक्ता टीकाजंग सिंह, बाँकेका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय बाँके, नेपालगन्ज उद्योग वाणिज्य संघ, महासचिव पदका विजयी घोषित भीमबहादुर रानाभाटलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।
उत्प्रेषणतर्फ रानाभाटलाई निर्वाचित गराउने घोषणा बदर गर्र्न माग गरिएको छ । परमादेशतर्फ गणना नभएका र गणना गरिएका मतपत्रमा समेत छेडखानी हुन सक्ने भएकाले सो मतपत्र, मतपेटिका एवं मुचुल्काहरु समेत यथास्थितिमा राख्न आदेश माग गरिएको छ । प्रतिषेधतर्फ मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म घोषित परिणाम अनुसार कुनै पनि पदको निर्वाचनमा निर्वाचित भएको प्रमाण पत्र दिने वा सपथ ग्रहण गराउने कार्य नगर्न नगराउनु, गर्न नलगाउनु भनि प्रतिषेधको आदेश माग दाबी गरिएको छ । अन्तरिम आदेशतर्फ तत्काल पुनः मतगणना गर्नु गराउनु, पुनः मतगणना नभएसम्मका लागि निर्वाचित रानाभाटलाई पदीय हैसियतमा कुनै पनि काम नगर्नु नगराउनु, गर्न नलगाउनु र विपक्षी निर्वाचन समितिले गरेको काम व्यवहारहरु कार्यान्वयन नगर्नु नगराउनु, गैरकानूनी रुपमा विजयी बनाउन खोजिएका प्रत्यासी भीमबहादुर रानाभाटलाई विवादित महासचिव पदमा निर्वाचित भएको घोषणा गर्ने गराउने, प्रमाणपत्र दिने र सपथ ग्रहण गर्ने गराउने कुनै पनि कार्य नगर्नु नगराउनु, गणना नभएका र गणना गरिएका मतपत्रमा समेत छेडखानी हुन सक्ने भएकाले सो मतपत्र, मतपेटिका एवं मुचुल्काहरु समेत यथास्थितिमा राख्नु राख्न लगाउन लगायत उपयुक्त आदेशको माग गरिएको छ । महासचिव पदको पुनः मतगणनाको माग गर्दै साझा प्रजाान्त्रिक समूहले नेपालगन्ज उद्योग वाणिज्य संघको मुलद्वारमा तालाबन्दी गरेको छ ।