चुनावी प्रतिबद्धता कार्यान्वयनमा जुटे नेपालगन्जका उद्योगी व्यवसायी, उद्योग मन्त्रीलाई संघको ज्ञापन पत्र

नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ज्ञापनपत्र बुझाउँदै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेको नवनिर्वाचित कार्य समिति सपथ ग्रहण गरेको एक साताभित्रै फरक फरक प्यानलबाट गरेका चुनावी प्रतिबद्धताहरु कार्यान्वयनमा जुटेको छ ।
बिहीबार नेपालगन्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष टंकबहादुर धामीले नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ११ बुँदे ज्ञापनपत्र बुझाएका छन् । यी माग अधिकांश समावेशी प्यानल र साझा प्र्रजातान्त्रिक प्यानलले चुनावी घोषणा पत्रमा उल्लेख गरेका मुद्दा हुन् ।
ज्ञापन पत्रमा जमुनाहा नाकाबाट अवैध रुपमा करोडौंको सामान भित्रिँदा स्वदेशी उद्योगी व्यवसायी मारमा परेकाले सीमा नाका व्यवस्थित गर्नुपर्ने र आयातमा रहेको अव्यवहारिक भन्सार नीति सच्चाउनुपर्ने माग गरेको छ । पटक पटक विद्युत जाँदा औद्योगिक प्रतिष्ठानका उत्पादन बिग्रेर खेर जाने र मेसिनरी सामानहरु बिग्रने समस्या धेरै भएकाले उद्योगहरुमा नियमित रुपमा सहज आपूर्ति गर्न ब्यवस्था गर्न र उत्पादनमूलक उद्योगलाई सहुलियत दरको बैंक ब्याज उपलब्ध गराउन माग गरेको छ । त्यसैगरी शिलन्यास गरिएको नौबस्ता औद्योगिक क्षेत्रमा तत्काल काम सुरु गर्नुपर्ने, नेपालगन्जमा निर्माणाधीन एकीकृत भन्सार जाँचचौकी (आइसीपी)को काम सम्पन्न गरी सञ्चालन गर्नुपर्ने रहेको छ । उद्योगी व्यवसायीलाई सहजताका लागि नेपालगन्जमा कम्पनी रजिष्टारको कार्यालय खोल्नुपर्ने, उद्योगी–व्यवसायीमैत्री नीति बनाएर पर्यटन उद्योगलाई प्रबद्र्धन गर्नुपर्ने, बाँकेमा जडिबुटीमा आधारित औषधि उद्योग सञ्चालनको वातावरण बनाउनुपर्ने र जडिबुटी निर्यातको समस्या समाधान गर्न नेपाल र भारतका सरकार स्तरमा संवाद गर्नुपर्ने माग रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अब्दुल वाहिद मन्सुरीले सरकारले उद्योगी व्यवसायीलाई संंरक्षणमुखी नीति लिन सुुझाव दिए ।

उद्योग मन्त्री रिजालले उद्योगी व्यवसायीलाई धेरै सेवा सुविधा दिने गरी सरकारले काम गर्न लागेको बताए । उनले नौबस्ता औैद्योगिक क्षेत्रमा न्यूनतम् चार्ज लिने गरी उद्योगीहरुलाई सहुलियत दिने र सञ्चालनका लागि पहल गर्न मन्त्रालयका सचिवलाई सरोकारवालासँग छलफल गर्न आग्रह गरे ।
सो अवसरमा संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले उद्योगीका समस्या, जडिबुटी व्यवसायी रविन्द्रनाथ शुक्लाले जडिबुटी व्यवसायीले भोगिरहेका दुःख, अक्सिजन ग्यास व्यवसायी राजिव तलंगाले कोरोनाकाल भरी सेवा दिएका अक्सिजन उद्योग धराशायी हुने गरी भारतबाट आयात गर्नुपर्ने लिक्विड अक्सिजन ग्यासमा राज्यले प्रोत्साहन गर्नु दुःखद भएको र संघका सदस्य बुद्धिबहादुर विकेले सुनचाँदी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न मन्त्री रिजाललाई ध्यानाकर्षण गरेका थिए ।