लुम्बिनीका मुख्यमन्त्री चौधरीको बर्दियामा एक लाख पर्यटक भित्र्याउने महत्वकांक्षी उद्घोष

नेपालगन्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक वर्षभित्र बर्दियामा एक लाख पर्यटक भित्र्याउने उद्घोष गरेका छन् ।
४४आंै पर्यटन दिवसको अवसरमा बुधबार बर्दियाको ठाकुरद्वारामा आयोजित कार्यक्रममा मन्त्री चौधरीले गत आर्थिक वर्षभन्दा दुई तिहाइ बढी पर्यटक भित्र्याउने उद्घोष गरेका हुन् । उनले भने, ‘अघिल्लो वर्ष बर्दियामा २८ हजार पर्यटक आएका रहेछन् । आउने वर्ष एक लाख पर्यटक भित्र्याउन कार्ययोजना बनाऔं ।’
उनले बर्दियामा एक लाख पर्यटक ल्याउन भारतको उत्तर प्रदेशमा पर्यटन प्रबद्र्धनका काम गर्नुपर्ने सुझाव पनि दिए । ‘उत्तर प्रदेशमा झण्डै २८ करोड जनसंख्या छ । मैले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ र भारतीय राजदूतलाई भेटेर लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यबारे जानकारी गराइसकेको छु । एक लाख भारतीयलाई बर्दियामा ल्याउन कुनैै समस्या छैन । त्यसको लागि प्रदेश सरकार सहयोग गर्न तयार छ’, उनले पर्यटन व्यवसायीसँग भने, ‘तपाईहरुको होटललाई कस्तो तालिम र गाइड चाहिएको छ ? कार्ययोजना ल्याउनुुुस् । प्रदेश सरकार सहयोग गर्न तयार छ ।’ उनले पर्यटन प्रबद्र्धनका कुरा गर्दै गर्दा स्थानीय उत्पादनलाई खपत गर्न पनि व्यवसायीलाई ध्यानाकर्षण गराए ।
मूल समारोह समितिका संयोजक ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलक लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य लालवीर चौधरी, लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरी, लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, प्रदेशसभा सदस्य जन्मजय तिमिल्सैना, लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव राधिका अर्याल, पर्यटन विकास परिषद्का निर्देशक रामु जोशी, पर्यापर्यटन विकास मञ्च बर्दियाका अध्यक्ष कृष्णप्रसाद भट्टराई, नगर उपप्रमुख विनाकुमारी भट्टराईले लुम्बिनी प्रदेशमा पर्यटकीय सम्भावनाबारे मन्तव्य दिएका थिए । हिमालय आधारभूत विद्यालय मिर्चैयाका विद्यार्थीले सामूहिक राष्ट्रिय गान गाएका थिए ।

समारोहमा झाँकीमा त्रिभुवन मावि भुरिगाउँ र जगदम्बा मावि मढेलाका एनसीसी तालिम लिएका विद्यार्थीले सलामी अर्पण गरेका थिए । झाँकीमा भजन चुड्का, लाठी नाच (डल्ला होमेस्टे), हुर्दंगा नाच (गोविन्दपुर होमस्टे), छैंठी झाँकी (खसान संस्कृति विकास मञ्च), मारुनी नाच (मगर संस्कृति), नेवार समुदायको लाखे नाच, मुग्रहवा नाच, साखिया पैया, छोक्रा नाच, सिको सहकारी झाँकी, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान झाँकी, लाठी नाच (जनकनगर होमेस्टे)ले प्रस्तुत गरेका थिए ।


कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाको सांस्कृतिक प्रतिनिधित्व गर्ने नृत्य पनि प्रस्तुत गरिएको थियो । स्थानीय कलाकार सन्तराम थारुले गीत र सुनिता चौधरीले नृत्य प्रस्तुत गरेकी थिइन् ।