नेपालगन्ज तनाव : सांसददेखि मन्त्रिपरिषदसम्मले सदभावको अपिलमा के भने ?

सामाजिक सदभावका लागि नेपालगन्जका धर्मगुरुको ऐक्यबद्धता । फोटो : नमस्कार शाहको फेसबुकबाट

नेपालगन्ज : संघीय सरकारको मन्त्रिपरिषद्देखि सांसद ले नेपालगन्जमा धार्मिक सदभाव कायम राख्न अपिल गरेका छन् ।
नेपाल सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा नेपालगन्जमा देखिएको तनावबारे छलफल भएको थियो । बैठकले धार्मिक, साम्प्रदायिक वा अरु आधारमा घृणा वा द्वेष हुने कामकारबाही नगर्न अपील गरेको सन्चारमन्त्री रेखा शर्माले बताइन् । उनले भनिन्, ‘विभिन्न जातजाति वा सम्प्रदायको बीचमा सुसम्बन्धमा खलल पुग्ने नगर्न नगराउनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौं ।’
बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य डा.धवल शम्शेर राणाले मंगलबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर नेपालगन्जमा सद्भाव कायम गर्न अपिल गरेका हुन् । राप्रपा महामन्त्रीसमेत रहेका राणाले भने, ‘सद्भावको सहरमा अशान्ति नफैलाउन नेपालगन्जबासीलाई अनुरोध गर्दछु । हिंसाका घटनालाई नियन्त्रणमा लिन सरकारसँग आग्रह गर्दछु ।’

त्यसैगरी बाँके क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौरले फेसबुकमा स्टाटसमा भनेका छन्, ‘नेपालगञ्ज क्षेत्रमा लामो समयदेखि विभिन्न फरक–फरक धार्मिक आस्था र फरक–फरक समुदायका मानिस मिलेर बसेकाले नेपालगन्जलाई हामी सद्भावको शहर पनि भन्ने गर्दर्छौं । कुनै पनि बहानामा नेपालगञ्जमा एकता, शान्ति र हामी बीचको सद्भाव बिथोलिनु हुँदैन । समस्त नेपालगञ्जवासीमा एकता, भाइचारा, शान्ति र सद्भावका लागि अपिल गर्दछु । सबै धर्म र सम्प्रदायबीच सद्भाव कायम राखौं ।’
त्यसैगरी नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले मंगलबार विज्ञप्ती जारी गर्दै ले नेपालगन्जमा देखिएको समस्या वार्ताको माध्यमबाट समाधान गर्न, धार्मिक सद्भाव कायम राख्न र सम्भावित धार्मिक र साम्प्रदायिक दंगा भड्िकने खतराबाट जोगिन सबै समुदायसँग अपिल गरेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘नेपालगन्जमा हिन्दु–मुस्लिम समुदायबीचको धार्मिक र साम्प्रदायिक दंगा भड्कने सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्पm संवेदनशील हुँदै संयमता अपनाउन एवं सामाजिक सद्भाव कायम राख्न संघ सम्बद्ध सबै समुदायसँग अपिल गर्दछ । साथै एकापसमा देखिएका विमतिहरुलाई वार्ताको माध्यमबाट समाधान खोज्न सबै पक्षलाई आग्रह गर्दछ ।’ संघले कुनै पनि बाहानामा धर्म र आस्थाका नाममा एक अर्काप्रति घृणा र द्वेष फैलाउने तथा फरक धर्म र सम्प्रदायप्रति चोट पुग्ने गतिविधिहरु नगर्न र संयमता अपनाउन पनि आग्रह गरेको छ ।


जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत विष्णु साहनीले विज्ञप्ती जारी गर्दै विषम परिस्थितिमा जिल्लाका सबै राजनीतिक दल, नागरिक समाजलगायत आमनागरिकबाट सामाजिक सदभाव र शान्ति कायम गर्न अहंम भूमिको अपेक्षा गर्दै सामाजिक सदभाव विग्रने गरी भ्रामक सन्चार सामग्रीको प्रचारप्रसार नगर्न नगराउन अनुरोध गरेका छन् । मंगलबार नेपालगन्जमा भएको झडपमा ३ जना सुरक्षाकर्मीसहित १३ जना ब्यक्ति घाइते भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । घाइतेहरुको उपचार विभिन्न स्वास्थ्य संस्थामा भइरहेको छ ।
मंगलबार बिहान नेपालगन्जमा शान्ति स्थापनाका लागि सदभाव र्यालीकोे आयोजना पनि गरिएको थियो । सदभाव र्याली लगत्तै ॐकार परिवार हिन्दु समाजले बिहान १० बजेदेखि दिउँसोे ४ बजेसम्म नेपालगन्ज बन्द गरेको थियो । र्यलीको क्रममा वीपी चोक क्षेत्रमा झढप भएको थियो ।