बाँकेको कोहलपुर र बैजनाथद्वारा स्वास्थ्यजन्य फोहर व्यवस्थापन गर्न ७ बुँदे प्रतिबद्धता

कोहलपुर : बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन गर्न ७ बुँदे प्रतिबद्धता जनाएका छन् ।
बर्दियाको गेरुवा ग्रामीण जागरण संघले बुुधबार कोहलपुर नगर र बैजनाथ गाउँपालिकामा आयोजना गरेको स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थानबारे सञ्चारकर्मी, मानवअधिकारर्मी र पालिकाका पदाधिकारीबीच गरेको अन्तरक्रिया कार्यक्रममा कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्य र बैजनाथका अध्यक्ष प्रकाशबहादुर शाहीले छुट्टाछुट्टै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।
गेरुवा ग्रामीण जागरण संघका कार्यकारी निर्देशक हरि सुवेदीका अनुसार प्रतिबद्धता पत्रमा हरेक स्वास्थ्य संस्थामा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनका लागि वार्षिक कार्ययोजना बनाएर लागू गर्ने, स्रोतमा नै फोहरको वर्गिकरण गर्न विभिन्न रंगका बाल्टि तथा विनहरुमा राख्ने लगायतका प्रतिबद्धता जनाएका हुन् । स्वास्थ्य संस्थाजन्य फोहरमैला व्यवस्थापनका लागि तालिम प्राप्त फोकल पर्सन तोक्ने भएका हुन् । कार्यक्रमकै क्रममा बैजनाथ गाउँपालिका अध्यक्ष शाहीले स्वास्थ्य र सरसफाइ क्षेत्रका लागि वातावरण शाखामा कार्यरत धनबहादुर नेपालीलाई फोकल पर्सन नियुक्त गरेको घोषणा गरेका थिए ।
त्यसैगरी प्रतिबद्धता पत्रमा फोहरको प्रकृति अनुसार उचित स्थानमा भण्डारण गर्ने वा गाड्ने, फोहर व्यवस्थापनमा संकलन कर्मचारीले व्यक्तिगत सुरक्षा मापदण्ड अनुशरण गरेको निश्चित गर्ने, कुहिने फोहरमैलालाई प्रांगारिक मल बनाएर प्रयोग गर्ने, सबै स्वास्थ्यकर्मी र फोहर संकलनका लागि हेपाटाइटस बी, टिटानास लगायतका संक्रमणविरुद्ध खोप लगाउने र फोहर व्यवस्थापनका लागि उपयुक्त विकल्पहरुको खोजी गरी दीगो व्यवस्थापनको योजना बनाइ लागू गन रहेका छन् ।
कार्यक्रममा कोहलपुरका नगर प्रमुख पूर्णप्रसाद आचार्यले स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि कानुन कार्यान्वयन गर्न र यस्तो फोहोरबाट हुने जोखिम न्यूनिकरणका लागि पहल गरिने बताएका थिए । ‘हामीले निजी क्षेत्रमार्फत फोहोर व्यवस्थापनको काम गरिरहेका छौं । स्वास्थ्यजन्य फोहोरको उचित व्यवस्थापन नहुँदा मानव अधिकार, पशु अधिकार, स्वास्थ्य र वातावरण क्षेत्रमा प्रभाव पर्ने भएकाले हामी जोखिममा पर्ने रहेछौं । अब हामी यस विषयमा गम्भीर हुन्छौं’, नगर प्रमुख आचार्यले भने, ‘स्वास्थ्यजन्य फोहोर निमूलीकरण गरेर व्यवस्थापन गर्न हामीसँग प्रविधिको अभाव छ । यसका लागि प्रदेश र संघीय सरकारसँग पहल गर्नेछौं ।’

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले पनि निजी क्षेत्रसँग सहकार्य गरेर फोहोर व्यवस्थापनको काम भए पनि स्वास्थ्यजन्य फोहोरलाई निमूलीकरण गर्न दुई वटा अटोक्लेभ मेसिनको प्रयोग गर्ने बताएका थिए । उनले गाउँपालिकाको सम्पूर्ण फोहोर व्यवस्थापन गर्न निजी क्षेत्रलाई हरेक वर्ष ४० लाख रुपैयाँ दिने सम्झौता भए पनि स्वास्थ्यजन्य फोहोर व्यवस्थापन अरु फोहोरसँगै हुने कुरालाई सच्चाउने बताएका थिए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले सहजीकरण गरेको कार्यक्रममा पत्रकार शंकरप्रसाद खनाल र अधिवक्ता वसन्त गौतमले स्वास्थ्यजन्य फोहोर व्यवस्थापन सम्बन्धी विधमान नीति, कानुन, स्थानीय तहका अभ्यास र चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा दुबै स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य, वातावरण, योजना शाखाका प्रमुख, स्वास्थ्य संस्थाका प्रमुख, अधिकारकर्मी र पत्रकारको उपस्थिति रहेको थियो ।