बर्दियामा २४ वटा लैङ्गिक तथा अपाङमैत्री शौचालय निर्माण

सानोश्री : बर्दियाको चार स्थानीय तहका २४ वटा लैङ्गिक तथा अपाङमैत्री शौचालय निर्माण गरिएको छ ।
गेरुवा ग्रामीण जागरण संघ बर्दियाले कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी (कोइका)को आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजनाले ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाका २३ वटा माध्यमिक विद्यालयमा लैङ्गिक तथा अपांगमैत्री शौचालय निर्माण गरिएको परियोजना संयोजक सुरज अर्यालले जानकारी दिए । ७ वटा विद्यालयका शौचालय मर्मत र ७ वटा अपाङमैत्री हात धुने स्थान पनि बनाइएको छ । परियोेजनाले जिल्लाका ३६ वटा विद्यालयमा काम गरेको छ । परियोजनाले ३६ वटा विद्यालयमा एक एक वटा महिनावारी आरामकक्ष र किशोरकिशोरी मैत्री सूचनाकक्ष पनि निर्माण गरिएको छ । सन् २०२१ को अप्रिलदेखि सुरु भएको भएको तीन वर्षे परियोजना सकिएको छ ।

शनिबार बर्दियाको मधुवन नगरपालिका स्तरीय तीन वर्षे परियोजनाको तेस्रो वर्षको समीक्षा तथा समापन बैठक सम्पन्न भएको थियो । मधुवन नगरपालिकाका मात्र ६ वटा लैङ्गिक तथा अपाङमैत्री शौचालय निर्माण गरिएको अर्यालले कार्यक्रममा जानकारी दिए ।

कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले दातृसंस्थाबाट विद्यालयमा लैङ्गिक तथा अपाङमैत्री शौचालय निर्माण गरेकोमा धन्यवाद दिए । उनले विद्यालयका भौतिक पूर्वाधार मर्मत सम्भारका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका थिए । मधुवन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले शिक्षा क्षेत्रको सुधार गरेर मात्र अन्य क्षेत्रको सुधार हुने भएकाले नीति तथा कार्यक्रममा शिक्षालाई प्राथमिकता दिने बताएका थिए ।

गेरुवा ग्रामीण जागरण संघ बर्दियाका अध्यक्ष कृष्णजंग शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधुवन नगरपालिकाका प्रवक्ता मेघबहादुर तामाङ, गेरुवाका कार्यकारी निर्देशक हरि सुवेदी, गुराँस मावि सानोश्रीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालबहादुर खत्रीलगायतले परियोजनाले गरेका सफल अभ्यासबारे जानकारी गराएका थिए ।

सोही कार्यक्रममा मधुवन नगरपालिकामा सञ्चालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजनाको सामाजिक परीक्षण पनि गरिएको थियो । पत्रकार शंकरप्रसाद खनालले नगरमा सञ्चालित परियोजनका एक वर्षे अवधिको सामाजिक परीक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।