नेपाल टी-२० विश्वकप क्रिकेटमा छनोट

नेपालगन्ज : नेपाल १० वर्षपछि टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।
काठमाडौंको मूलपानी मैदानमा शुक्रबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।
यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।
पहिले ब्याटिङ गरेको युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १र१ विकेट लिए ।
ओमान पनि विश्वकपमा छनोट भएको छ । नेपाल र ओमान छनोट भएपछि सन् २०२४ मा हुने टी-२० विश्वकप खेल्ने १८ टोली छनोट भइसकेका छन् । आईसीसी मेन्स टी-२० विश्वकप २०२४ मा कुल २० टिमले प्रतिस्पर्धा गर्नेछन् ।