मानवअधिकार समन्वय समिति गठन गर्न जनप्रतिनिधिद्वारा प्रतिबद्धता
नेपालगन्ज : लुम्बिनी प्रदेशका प्रदेश, जिल्ला र स्थानीय तह स्तरीय मानव अधिकार समन्वय समिति गठन गर्न जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालयले शुक्रबार नेपालगन्जमा आयोजना गरिएको पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन कार्यशाला गोष्ठीमा लुम्बिनी प्रदेशका मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधिले चाँडै नै समन्वय समिति गठन गर्ने प्रतिबद्धता जनाएका हुन् । नेपाल सरकारले नेपालको संविधान २०७२ ले व्यवस्था गरेका मौलिक हकको तीन तहकै सरकार (संघीय, प्रदेश र स्थानीय तह)बाट ग्यारेन्टी गर्न आर्थिक वर्ष ०७७/०७८ – २०८१/८२ मा जारी गरेको मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि प्रदेश, जिल्ला र स्थानीय तह स्तरीय समन्वय समिति गठन गरेर कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ । बाँकेको राप्तीसोनारी गाउँपालिका बाहेक लुम्बिनी प्रदेशका १०८ स्थानीय तह, १२ जिल्लाको जिल्ला समन्वय समिति र लुम्बिनी प्रदेश सरकार कसैले पनि समन्वय समिति गठन नगरेको इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत बताउँछन् ।
बरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ संविधानको धारा १६ देखि ४६ सम्म रहेका मौलिक हकको ग्यारेन्टी गर्न तीन तहकै सरकारले मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्नका लागि प्रदेश, जिल्ला र स्थानीय तह स्तरीय समन्वय समिति गठन गर्नुपर्ने बताउँछन् । उनका अनुसार प्रदेशमा प्रदेशका प्रमुख सचिव, जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहमा प्रमुख÷अध्यक्षको संयोजकत्वमा समन्वय समिति गठन गर्ने व्यवस्था छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिर, प्रदेशसभा सदस्यहरु रत्न खत्री, वसन्ती अधिकारी, सन्जुकुमारी चौधरी, दुर्गाप्रसाद थारु, सुशीला नेपाली र जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी र डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले प्रतिबद्धता जनाएका हुन् ।
इन्सेक प्रदेश संयोजक भोला महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, राष्ट्रिय मानव अधिकार आयोगका नेपालगजका प्रमुख द्वारिका अधिकारी, बरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, मानव अधिकार एलाइन्सका प्रभातसिंह ठकुरी, विनोद थापालगायतले प्रदेश, जिल्ला र स्थानीय तहमा समन्वय समिति गठन गर्न जोड दिएका थिए ।