बाँके प्रहरीद्वारा ३ राउण्ड गोली फायर, अभियुक्त राना घाइते

नेपालगन्ज : बाँके प्रहरीले शुक्रबार एक जना अभियुक्तलाई पक्राउ गर्न गोली प्रहार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डीएसपी नारायण डाँगीका अनुुसार कोहलपुर नगरपालिका १२ चप्परगौडीका २९ वर्षीय मीनबहादुर बिकलाई बिहीबार राति १०ः५५ बजेतिर खुकुरी प्रहार गरी फरार रहेका चप्परगौडीका ३० वर्षीय आकाश रानालाई पक्राउ गर्न प्रहरीले जानकी गाउँपालिका ४ मा तीन राउण्ड फायर गरेको हो ।
अरहर बारीमा लुकिछिपी बसिरहेको रानालाई नियन्त्रणमा लिन खोज्दा निजले प्रहरीलाई धकलपकल गरी भाग्दै गर्दा प्रहरी टोलीद्वारा ३ फायर गरी नियन्त्रणमा लिएको सूचना अधिकारी डाँगीले बताए । प्रहरीको गोली प्रहारबाट रानाको दाहिने खुट्टाको घुँडामा एक राउण्ड गोली लागेकोे थियो । उनको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेकोमा अवस्था खतरामुक्त रहेको डाँगीले जनाएका छन् । राना यसअघि २८ कार्तिकमा कोहलपुर ११ मा १० वर्षीया नाबालिकालाई जबरजस्ती करणी उद्योग गरेको जाहेरी समेत दर्ता भएको प्रहरीले जनाएको छ । उनी २७ असोज २०७४ जिल्ला अदालत बाँकेको आदेशले लागू औषध ब्राउनसुगर मुद्दामा कैद सजाय भइ २७ भदौ २०७९मा कैदमुक्त भएको जिप्रका बाँकेले जनाएको छ ।