शान्ति सदभाव र धार्मिक सहिष्णुताको लागि धर्मगुरुको ऐक्यबद्धता
रमेशकुमार यादव । नेपालगन्ज
शान्ति सदभाव र धार्मिक सहिष्णुताको लागि बाँकेका धर्म गुरुहरुले ऐक्यबद्धता जनाएका छन् ।
सभ्य समाज नेपाल बाँके, सहयात्री नेपाल, नेपाल युवा परिषद, युआरआइको समन्वय सहकार्यमा नेपाल युनाइटसले आइतबार नेपालगन्जमा आयोजना गरेको धर्म गुरुहरुसँग अन्तरक्रिया कार्यक्रममा बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीर यस्तै बौद्ध धर्मका लामा गुञ्जबहादुर लामाले शान्ति सदभाव र धार्मिक सहिष्णुताको लागि सबै धर्म गुरुहरु एक हुनुपर्नेमा ऐक्यबद्धता जनाएका हुन् ।
बागेश्वरी मन्दिरका मूल महन्त योगीले जहाँ धर्मको रक्षा हुन्छ त्यहाँ नै शान्ति हुने दाबी गर्दै जब शान्ति हुन्छ समाज राष्ट्रको विकास हुने बताएका थिए । मुस्लिम धर्मगुरु मौलाना मन्जरीले शान्ति कायम गर्नका लागि मानिसले सोच फराकिलो हुनुपर्नेमा जोड दिएका थिए । बौद्ध धर्मका लामाले धर्म सबैको एउटै भएकोले एकले अर्काको सम्मान गर्नुपर्ने बताएका थिए । युवा अभियान्ता साहिल अन्सारी, सलमान सलमानी, चन्द्रप्रसाद शर्मा, दिपिका देवकोटा, ऋतिक शाहीलगायतले शान्ति, सदभाव तथा धार्मिक सहिष्णुताको लागि युवाहरु सक्रिय हुनुपर्नेमा जोड दिएका थिए ।










