टीकापुरमा केराको थामबाट रेशा उत्पादन सुरु !
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा केराको थामबाट रेशा उत्पादन गर्न थालिएको छ । टीकापुर नगरपालिका-८ धनसिंहपुरमा रहेको एकता समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले केराको थामको रेशा उत्पादन सुरु गरेको हो ।
टीकापुर-८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले शनिबार केराको थामबाट रेशा उत्पादन गर्ने मेसिनको उद्घाटन गरेका थिए । वडाध्यक्ष ठकुल्लाले टीकापुर क्षेत्र केरा पकेट क्षेत्र रहेको केरा उत्पादन पश्चात् केराका थाम त्यतिकै खेर फाल्ने गरेकोले त्यसको पनि उपयोग हुने भन्दै प्रशंसा गरे । दीगो विकास समाज भजनी र धनसिंंहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त लगानीमा केराको थामको रेशा उत्पादन सुरु गरिएको सहकारीका ब्यवस्थापक रामकृष्ण चौधरीले जानकारी दिए ।
दिगो विकास समाज भजनीको दुई लाख रुपैयाँ र सहकारीको पनि दुई लाख रुपैयाँ गरि चार लाख रुपैयाँको लगानीमा रेशा उत्पादन भइरहेको सहकारीका अध्यक्ष विक्रम चौधरी बताउँछन् । केराबाट निकालिएको रेशा काठमाडौंमा बजारिकरण गरिने योजना छ । पछि रेशाबाट स्थानीय स्तरमा नै विभिन्न किसिमका तालिम सञ्चालन गरि गुन्द्री, चकटी, हाते झोला टोपीलगायतका सामग्री निर्माण गरिने जनाइएको छ ।