साधारणसभाको दुई साता बित्दा पनि सत्ती कर्णाली सामुदायिक वनको निर्वाचन अन्यौलमा

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका वडा न ७ सत्तीको सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहको कार्य समिति चयन प्रकृयामा विवाद हुँदा साधारणसभा भएको पन्ध्र दिन बितिसक्दा पनि निर्वाचन हुन सकेको छैन।
गत २८ पुसमा साधारणसभामा आगामी कार्यकाल लागि नयाँ कार्यसमिति चयन प्रकृया निर्वाचन समितिले अगाडि बढाएको थियो । सहमतिमा कार्यसमिति चयन हुन नसकेपछि निर्वाचन समितिले चुनावी कार्यतालिका सार्वजनिक गरेको थियो । सोही तालिका बमोजिम माघ २ गते उम्मेदवारी दर्ता गराईएको थियो । जस अनुसार दुई वटा प्यानलले चुनावी प्रतिस्पर्धामा छन् । निवर्तमान अध्यक्ष धनसिंह साउँद अध्यक्षको उम्मेदवार रहेको एउटा प्यालन र निवर्तमान सह सचिव प्राङ्कुश चौधरी नेतृत्वको अर्को प्यानलले उम्मेदवारी दर्ता गराएका थिए । वन निमावली २०७९ ले दुई कार्यकाल अध्यक्ष भइसकेकोले पुन अध्यक्ष हुन नपाउने र स्वत आफू अध्यक्ष हुने भन्दै चौधरीले साउँदविरुद्ध उजुरी र साउद पक्षले पनि चौधरी टीकापुर नगरपालिका वडा न ८ वनगाउँस्थित रहेको वनगाउ प्रस्तावित सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष रहेकाले वन निमावली अनुसार एक ब्यक्ति दुई ठाउँमा उपभोक्ता सदस्य समेत हुन नपाउने प्रावधान रहेको अवस्थामा अध्यक्ष समेत हुन अयोग्य हुन्छ भन्दै उजुरी हालेपछि विवादसहित अन्यौल उत्पन्न भएको निर्वाचन समितिका संयोजक वीरेन्द्र शाह बताउँछन् ।
निर्वाचन समितिले उम्मेदवारमाथि परेका उजुरीका विषयमा सव वन डिभिजन कार्यालय पहलवानपुरमा लिखित जानकारी गराए पनि उक्त कार्यालयले दाबी बिरोध तथा उजुरीका विषयमा ठोस निर्णय नदिएको र वन निमावली गर्न भनी लिखित निर्देशन दिएकोले निर्वाचन समिति पनि अन्यौलमा परेको छ । राजनीतिक खिचातानी गरेर सामुदायिक वनलाई धरापमा पार्ने काम कसैले गर्न नहुने स्थानीय बताउँछन ।
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस पार्टीबीच भएको खिचातानीका कारण एक पक्षले अर्को पक्षको अस्तित्व स्वीकार गर्न नसक्नुले निर्वाचन हुन नसकेको स्थानीयको आरोप छ तर अध्यक्ष पदका उम्मेदवार धनसिह साउँदले आफू सामुदायिक वनलाई अनिर्णयको बन्दी बनाउने कुरामा सजग रहेको र प्रतिद्वन्द्व नमानेका कारण यस्तो हुन पुगेको बताए । आफूले आफ्नो प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई दुबै जनाले हालेको उजुरी फिर्ता लिई चुनाव लड्न र दुबै जनाले उम्मेदवारी फिर्ता लिई नयाँ उम्मेदवार दिन पनि सहमत रहेको बताए।
दुबै उम्मेदारहरुलाई मंगलबारसम्म सहमति गरेर आउन निर्वाचन समितिले जानकारी गराएको छ । निर्वाचन गराउने वातावरण नदिएमा निर्वाचन समितिले आफूले निर्णय दिने बताएका छन्। निर्णय के दिने भन्ने खुलाएका छैनन । सम्भवतः निर्वाचन समिति राजिनामा दिन सक्ने आँकलन गरिएको छ ।