ग्लोबल आइएमइ बैंकलाई सडकमा जथाभावी फोहोर फाल्दा ५ हजार जरिवाना

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्ने ग्लोबल आइएमइ बैंकलाई जरिवाना गरेको छ ।
नगर प्रमुख प्रशान्त विष्ट नेतृत्वको टोलीले स्थलगत अनुगमनका क्रममा सोमबार सडकमा जथाभावी फोहोर फालेको पाइएकाले बैंकलाई ५ हजार जरिवाना जरिवाना गरिएको हो । बैंकसहित आधा दर्जन बढी व्यापारिक फर्म तथा पसललाई कारबाही गरिएको थियो । सडकमा फोहोर फाल्ने क्रम नरोकिएपछि उपमहानगरपालिका कार्यालयले जरिवाना गरेको जनाएको छ ।

उपमहानगरपालिकाले राही मार्ट, शर्मा प्लास्टिक, एटुजेड मोबाइल पसल, रोयल कर्णाली मार्ट, राहुल मःम सेन्टर र मयुरिया रेस्टुरेन्ट एण्ड बारले सडकमा जथाभावी फोहोर फालेको भेटिएपछि नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम जनही ५ हजार तथा पुष्पा इलेक्ट्रिकल्स सप्लायर्सलाई सडकमा २४ घण्टा भन्दा बढी समयदेखि निर्माण सामग्री राखेवापत ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

नगर प्रमुख विष्ट, नगर प्रहरी, नेपालगन्ज उद्योग बाणिज्य संघ, नागरिक समाज, होटेल व्यवसायी संघ लगायत सर्वपक्षीय टोलीले धम्बोझी चोकदेखि गुल्मसम्म सडकको दायाँबायाँ क्षेत्रमा अनुगमन तथा निरीक्षण गरेको थियो । अनुगमन टोलीमा नगर प्रहरी प्रमुख सूर्य बोगटी, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव भीम रानाभाट, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठलगायत सहभागी भएका थिए ।नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ अनुसार ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिन्छ । नगर प्रमुख विष्टले नगर सफा राख्नु सबै नगरबासीको दायित्व भएको भन्दै जथाभावी फोहोर नफाल्न आग्रह गरेका छन् ।