गेरुवा ग्रामीणको सामाजिक लेखा परीक्षण सम्पन्न

गुलरिया : गेरुवा ग्रामीण जागरण संघ बर्दियाको वार्षिक सामाजिक लेखा परीक्षण सम्पन्न भएको छ । सदरमुकाम गुलरियामा शुक्रबार आयोजित कार्यक्रममा सामाजिक लेखा परीक्षण गरिएको हो ।
संस्थाका कार्यकारी प्रमुख हरि सुवेदीले संस्थाले हालसम्म सञ्चालन गरेका परियोजना र उपलब्धीबारे प्रस्तुती दिएका थिए । कार्यक्रममा अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका उप सम्पादक तथा मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनालले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संस्थाले बाँके र बर्दियाका स्थानीय तहमा सञ्चालित किशोर, किशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सुधार परियोजना, प्रयास–२÷सफल परियोजना, संस्थागत वास सुधार परियोजना र शौचालय मर्मत सम्भार परियोेजनाको अवस्था र परियोजनाको सामाजिक प्रभाव, चुनौती र सुझावबारे जानकारी गराएका थिए ।
संस्थाका अध्यक्ष कृष्णजंग शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर विष्ट प्रमुख अतिथि रहेका थिए । विष्टले स्वास्थ्य र सरसफाईका क्षेत्रमा लामो समयदेखि बर्दियामा योगदान गरेको भन्दै संस्थाको प्रशंशा गरेका थिए ।

कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले आफ्नो स्थानीय तहले शिक्षा, स्वास्थ्य र वासका क्षेत्रमा गरेका नमुना अभ्यासबारे जानकारी गराएका थिए ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सामाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकार र संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो ।