नेपालगन्जमा नायक पल शाहको क्रेज

नेपालगन्ज : नायक पल शाहको नेपालगन्जमा क्रेज देखिएको छ ।
नेपालगन्जको सिनेरोयलमा दशौँ दिनमा चलिरहेको नेपाली चलचित्र पुजार सार्कीका अभिनेता शाहलाई दर्शकले भव्य स्वागत गरेका थिए । दर्शकको मायाले पुलकित भएका नायक शाह पनि सेल्फी खिच्दै रमाएका थिए ।

सिनेरोयलमा नायक शाह आउने जानकारी पाएका दर्शकले घण्टौंदेखि पर्खेर बसेका थिए । जब पलको प्रवेश हल परिसरमा भयो तब दर्शकको उत्साह थपियो। नेपालगन्जको प्रचण्ड गर्मीको समेत प्रवाह नगरी हल बाहिरै दर्शकले घेरा हालेका थिए। नेपालगन्जका हल सिनेरोयलमा हाउसफुल दर्शकहरू भएपछि नायक पल दिनभर नेपालगन्जमै बसेका थिए ।

नेपालगन्जमाआयोजित पत्रकार भेटघाटमा आफूले सबै दर्शकलाई भेटेरै मात्र फर्कने प्रतिबद्धता जनाएका शाहले सिनेरोयलमा राति ९ः१५ बजेको अन्तिम शोका दर्शकलाई समेत भेटेका थिए । सिनेरोयलका शनिबार आठ वटा शोमध्ये मध्यान्नसम्मका सबै हाउसफुल भएका थिए।
अभिनेता शाहले सकेसम्म नेपाल र विदेशमा रहेका सबै दर्शकमाझ पुग्ने आफ्नो चाहना रहेको बताए। देश विदेशका दर्शकहरूबाट हामीलाई निम्तो आइरहेको छ। म भर्खरै जापान पनि पुगेर आएँ। अहिले हामी पश्चिम नेपालका दर्शक भेटिरहेका छौँ। बिस्तारै हामी अन्य स्थानहरूमा पनि पुग्नेछौँ’, शाहले भने।
गत बुधवार आदर्शनगरस्थित सिनेरोयल हलमा नेपाली चलचित्रको रेकर्ड नै ब्रेक भएको हलका सिओओ रितेश श्रेष्ठले बताए। दश महिना अघि सञ्चालनमा आएको यो हल सञ्चालन भएदेखि गत बुधवार पुजार सार्कीले प्राप्त गरेको छ वटा शो मा सबै टिकट बिक्री भई ऐतिहासिक रेकर्ड राखेको श्रेष्ठले बताए।
पलसँगै चलचित्रका निर्देशक दिनेश राउत पनि नेपालगन्ज आएका थिए । अभिनेता शाह, निर्देशक राउतसहितको पुजार सार्की टिम आइतबार दाङको भीएफएक्स सिनेमा हल पुग्नेछ भने सोमबार धनगढीस्थित एसटीएस सिनेमा हलमा पुग्ने कार्यक्रम तालिका छ।