सोफिया स्कुलका विद्यार्थीको रोमाञ्चक छाता नृत्य !

नेपालगन्ज । न झरी, न वर्षा ! जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार नेपालगन्जमा न्यूनतम् ११ डिग्री सेल्सियसदेखि अधिकतम् २९ डिग्री सेल्सियस तापक्रम थियो । न त पारिलो घाम नै लागेको थियो । रातो, हरियो, पहेलो र नीलो हाफ टिसर्ट र ट्राउजर लगाएका साना बालबालिका छाता बोकेर चौरमा जम्मा हुन्छन् । उनीहरुको भेषभुषाले नेपालगन्जमा गर्मीलाई स्वागत गरिरहेको भान हुन्थ्यो । एकाएक संगीतको धुन बज्छ । अनि हरेकका हातको सप्तरंगी छाता खुल्छ । विद्यार्थीले कस्तो जीवन्त र रमाइलो प्रस्तुति दिन्छन् । रंगीन छाताले एउटा जादुमय दृश्य सिर्जना गर्छ । अभिभावक खुसीले ताली बजाएर सन्तानको प्रशंसा गर्छन् ।

सोफिया स्कुलका विद्यार्थी छाता नृत्य गर्दै । फोटोहरु सौजन्य : राजकुमार चौधरी

नेपालगन्जको सोफिया रेसिडेन्सियल स्कुलको वार्षिक खेल दिवस २०२५ को अवसरमा १ देखि ३ कक्षासम्मका साना विद्यार्थीले प्रस्तुत गरेको छाता नृत्यको दृश्य हो, यो । जहाँ १९० जना विद्यार्थीले एकैपटकमा छाता नृत्य गर्दाको दृश्य कम्तीको लोभलाग्दो थिएन ।

त्यसो त विद्यार्थीको प्रस्तुती यो एउटा मात्र थिएन । ४ देखि कक्षा ६ सम्मका विद्यार्थीले बेलुन डान्स पनि उस्तै रोमाञ्चकारी थियो । जहाँ ३३० भन्दा बढी विद्यार्र्थीले एकसाथ नृत्य गरेका थिए । टाउकोमा सेतो टोपी, रातो हाफ टिसर्ट, हातहातमा पहेलो, हरियो, नीलो, रातो फुलेको बेलुनसँगै गरेको नृत्य पनि मनमोहक थियो । पीजीदेखि युकेजीका विद्यार्थीको रिवन डान्सले पनि दर्शकको मन लोभ्याएको थियो ।

विद्यालयका प्रिन्सिपल सुरेश गुरुङ सामान्य रुपमा अरुले गरेको नृत्य भन्दा स्थानीय स्रोत साधनको प्रयोग गरेर एकै पटक धेरै विद्यार्थीलाई नृृत्यमा सहभागी गराउँदा विद्यार्थीकोे हौसला बढेको बताउँछन् । उनलाई पनि विद्यार्थीको प्रस्तुतीले मन छोएको थियो । विद्यार्थी खुला आकासमा ठूलो मञ्चमा प्रस्तुती दिइरहेका थिए भने अभिभावक रुपी दर्शक टेण्टभित्र कुर्सीमा बसेर आनन्द लिइरहेका थिए । सन्तानको प्रस्तुतीमा कति अभिभावक फोेटो र भिडियो खिच्न पुग्थे ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले खेल दिवसको उद्घाटन गर्दै नेपालगन्जमा गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमा राम्रो छवि बनाएको भन्दै सोफिया स्कुलको प्रशंशा गरेका थिए ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले खेलकुद लगायतका अतिरिक्त क्रियाकलाप गरेर विद्यालयले विद्यार्थीहरुको क्षमता प्रस्फुटन गर्ने र अभिभावकलाई स्कुलसँग जोड्ने काम गरेको भन्दै प्रशंशा गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक सुशीला बसेलले खेल नै विद्यार्थीको सर्वाङ्गिण विकासको आधार भएकाले बालबालिकालाई खेल प्रतियोगिता आयोजना गर्ने गरेको जानकारी दिइन् । उनले विद्यालयले आयोजना गर्ने यस्ता रचनात्मक कार्यक्रममा अभिभावकले गरेको साथ र सहयोगले विद्यार्थीलाई अझ बढी हौसला मिलेको बताइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केवी बसेलको अध्यक्षतामा सम्पन्न खेल दिवसमा ५० वटा खेल स्पर्धा गराइएको थियो । प्रतियोगिताका विजेता खेलाडीहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । खेल दिवस सुरु हुनु अघि कक्षा १ देखि ९ सम्मका विद्यार्थीले मार्च पास गरेका थिए ।

जुम्बा डान्स, पिटीलगायतका प्रस्तुतीहरु पनि थिए । अधिकांश प्रस्तुती कक्षागत, हाउसगत र अन्तरकक्षाका विद्यार्थीबीच गराइएको थियो । चौरको हरियो दुबो मञ्च बनेको थियो भने धुलो नउडोस् भनेर बेला बेलामा पाइपबाट पानी हाल्ने गरिएको थियो ।

खेल दिवसका अवसरमा अन्तर हाउस दौड, हाइजम्प, लङ्ग्जम्प, सर्टपुट, ब्याडमिन्टन, कबड्डी, फुटबल, क्रिकेट, डोरी तान्ने खेलका प्रतिष्पर्धा भएका थिए । जसमा ब्लु हाउस च्याम्पियन बनेको थियो । ग्नीन हाउस दोस्रो र एल्लो हाउस तेस्रो भएको थियो ।