नेपालगन्जमा सिटी हलको उद्घाटन
नेपालगन्ज : काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहको झल्को दिने गरी नेपालगन्जमा बनेको अत्याधुनिक सभागृहको मंगलबार उद्घाटन गरिएको छ ।
नेपालगन्ज उप महानगरपालिका १४ भवानियापुरमा २ विघा ८ कठ्ठा जग्गामा बनेको नेपालगन्ज सिटी हलको संघीय सरकारका उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरेका हुन् । सहरी विकास मन्त्रालयले बनाएको सिटी हलमा अत्याधुनिक थियटरसहितको ८ सय सिट क्षमता छ । फिल्म हलमा जस्तै बाल्कोनी पनि बनेको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालले मोहम्मद इस्तियाक राई सहरी मन्त्री हुँदा सिटी हललाई बजेट विनियोजन गरेको स्मरण गराएका थिए ।