लुम्बिनी कप महिला फुटबलको मिति स-यो, ५-१५ वैशाख २०८२ मा हुने
नेपालगन्ज : लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता आगामी ५-१५ वैशाख २०८२ मा हुने गरी मिति परिवर्तन भएको छ ।
आयोजक अन्तरालले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा यही फागुन १९-२९ गतेसम्म नेपालगन्ज रंगशालामा तय भएको प्रतियोगिताको मिति परिवर्तन गरिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । उनले भने,‘प्राविधिक कारणले प्रतियोगिताको आयोजना मिति केहि पछाडि सरेको छ । अब नयाँ मितिमा आयोजना हुने प्रतियोगितालाई हामी भव्य बनाउने प्रयास गर्नेछौं । मैदानको स्तर उन्नती र स्थानीय खेलाडीहरुको लागि प्रशिक्षणको लागि केही समय मिलेको छ । यसले प्रतियोगितालाई अझ स्तरीय र व्यवस्थापनमा पनि राम्रो गर्न सहयोग गर्नेछ ।’
अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको समन्वयमा हुन लागेको लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण फुटबलले महिला खेलको स्तरलाई माथि उकास्ने आयोजकले विश्वास लिएको छ । प्रतियोगितामा नेपालका चर्चित क्लबहरु, विभागीय टिम र भारतीय गरी ८ टोलीको सहभागिता रहनेछ ।








