मुख्यमन्त्री कोहलपुर गोल्डकप : राइजिङ स्टार सेमिफाइनलमा

कोहलपुर : तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपमा राइजिङ स्टार फुटबल क्लब नवलपरासी सेमिफाइनलमा प्रवेश गरेको छ ।
बाँकेको कोहलपुरमा आइतबार सम्पन्न दोस्रो क्वाटर फाइनल खेलमा भारतको साहारा फुटबल क्लबलाई पेनाल्टी सुटआउट ४–३ गोल अन्तरले हराउँदै नवलपरासी विजयी भएको हो ।
खेल अवधिभर दुवै टोलीले गोलका लागि थुप्रै प्रयास गरेका थिए । खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । दोस्रो हाफमा समेत दुवै टोली गोल गर्न असफल गरे । निकै प्रतिष्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटमा कुनै पनि गोल गर्न नसकेपछि पेनाल्टीमा गएको थियो । पेनाल्टीमा भने राइजिङ स्टार फुटबल क्लब नवलपरासी भाग्यमानी ठहरियो । गोलकिपर प्रतिक सुनारको उत्कृष्ट प्रदर्शनबाट नवलपरासीले सेमिफाइनलमा स्थान पक्का गरेको छ । सुनारले साहाराका तीन वटा पेनाल्टी बचाएका थिए । राइजिङ स्टार फुटबल क्लब नवलपरासीका गोलकिपर सुनार म्यान अफ द म्याच घोषित भए । उनले नगद् पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् । म्यान अफ द म्याच घोषित सुनारलाई कोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मणराज पौडेलले पुररस्कार प्रदान गरेका हुन् । म्यान अफ द म्याच घोषित सुनारले आफ्नो टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेल्न पाउँदा खुसी लागेको बताए ।
प्रतियोगिताको तेस्रो दिन सोमबार दिउँसो ३ बजे कोहलपुरस्थित तेह्र विगाहा खेल मैदानमा प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँ र राइनो फुटबल क्लब गण्डकीबीच हुने प्रतियोगिताका संयोजक कर्ण बस्नेतले जानकारी दिए ।