सामाजिक सञ्जाल विधेयक संसदबाट फिर्ता लेउ : सरोकारवाला
नेपालगन्ज : बाँकेका पत्रकारलगायतका सरोकारवालाले सरकारले संसदमा टेबुल गरेको सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता लिन माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ बाँके शाखाले बुधबार नेपालगन्जमा आयोजना गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जाल विधेयक विषयक मन्थन विर्मश कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकार र अधिकारकर्मीहरुले सरकारसँग विधेयक फिर्ता लिएर सरोकारवाला निकायसँग छलफल गर्न माग गरेका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागार्ई, मानव अधिकार आयोग नेपालगन्ज कार्यालय प्रमुख द्वारिका अधिकारी, कानुुन व्यसायी परिषद् सदस्य ईश्वरी ज्ञवाली, उच्च अदालत वार एशोसियसन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाही लगायतले कुनै पनि ऐन कानुनको विधेयक तयार गर्दा सरोकारवाला निकायबीच छलफल गर्न आवश्यक रहेको बताउँदै सरकारले सामाजिक सञ्जाल सम्बन्धी विधेयक नियमन गर्न भन्दा नियन्त्रण गर्ने उद्देश्यले ल्याउन लागेको जिकिर गरे । उनीहरुले सामाजिक सञ्जाल विधेयकले धेरै दण्ड र जरिवाना गर्ने प्रावधान राखेर नागरिकको बोल्न र लेख्न पाउने अधिकारमाथि बन्देज लगाउन खोजेको टिप्पणी गरे ।
नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नविन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ पत्रकार झलक गैरेले विधेयकमा समेटिएका विषयवस्तुबारे प्रस्तुती दिएका थिए । पत्रकार गैरेले सामाजिक सञ्जाललाई नियमन गर्दा कसैको विमति नहुने बताउँदै सरकारले सामाजिक सञ्जाल विधेयक नियन्त्रणका लागि ल्याउन लागेको बताए ।
कार्यक्रममा बाँकेमा क्रियाशील पत्रकारहरु नीरज गौतम, डा.डक्टप्रसाद धिताल, शंकरप्रसाद खनाल, नरेन्द्र थापा, मो.आरिफ अन्सारी, कमल डाँगी, प्रियास्मृति ढकाल, वीरेन्द्र जैसी, मधु पौडेल, सावित्री गिरीलगायतले सामाजिक सञ्जाल सम्बन्धी विधेयकले आमसञ्चार माध्यमलाई पनि नियन्त्रण गर्न खोजेको धारणा राखेका थिए । नेपाल पत्रकार महासंघ बाँके शाखाले छलफल कार्यक्रमका सुझाव संकलन गरेर सांसद मार्फत संंसदलाई सुझाव पठाइने बाँके शाखा अध्यक्ष गिरीले प्रष्ट पारे ।








