११५औ अन्तर्राष्ट्रिय नारी दिवस : पत्रकारद्वय गहतराज र गिरीसहित ६ जनालाई सम्मान

नेपालगन्ज : बाँकेका दुई जना पत्रकारसहित ६ जनालाई सम्मान गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा महिलाको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरुको नगर स्तरीय लैङ्गिक हिंसा निगरानी सञ्जालले ११५औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शनिबार नेपालगन्जमा आयोजित कार्यक्रममा पत्रकार, उद्योगी र सामाजिक अभियन्ता गरी ६ जना महिलालाई सम्मान गरेको हो । कान्तिपुर दैनिककी पत्रकार रुपा गहतराज र गोरखापत्र दैनिक तथा रेडियो कृष्णसारकी सावित्री गिरी, महिला उद्यमी आशा सार्की, लक्ष्मी बम, नानी माया पुरी र सामाजिक अभियान्ता शाहिदा बानोलाई सम्मान गरिएको हो ।

आयोजक मूल समारोह समिति एवं नगर स्तरीय लैङ्गिक हिंसा निगरानी सञ्जाल नेपालगन्ज उपमहानगरपालिकाका संयोजक केशव कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य मीना श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक तुलबहादुर कार्की, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जमा प्रमुख द्वारिका अधिकारी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, नेपालगन्ज उपमहानगरपालिका न्यायीक समिति सदस्य रुमिता श्रेष्ठ र नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्य संगीता रेग्मी, नेपालगन्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख पवित्राकुमारी पुरीलगायतले कार्यक्रममा धारणा राखेका थिए ।

