कैलालीको सत्ती क्षेत्रमा बाघ/चितुवा आतंक

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका-७ सत्ती क्षेत्रमा बाघ/चितुवाको आतंक मच्चिएको छ ।
केराबारीमा चितुवा मृत अवस्थामा फेला परेको दुई दिन नपुग्दै आइतबार राति टीकापुर-७ पदमपुरका प्राङकुश चौधरीले पालेको कुकुर बाघले मारेको छ । पदमपुर घरदेखि करिब एक किलोमिटर टाढा जंगल नजिक पेट फुटाएको अवस्थामा कुकुरको शव फेला परेको चौधरीले बताए ।
स्थानीय नवराज जैशी साँझ करिब ८ बजेको समयमा बाघ गाउँ पसेर घर पालुवा जनावरमाथि आक्रमण गर्ने गरेको बताउँछन् । गाउँ नजिकै रहेको सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहबाट दैनिक गाउँ पस्ने बाघले स्थानीयका घरपालुवा जनावरमाथि आक्रमण गर्ने गरेको अर्का स्थानीय योगेन्द्रप्रसाद ढुङ्गानाले अनुभव सुनाए । शनिबार टीकापुर-७ सत्तीस्थित महेश रावलको केराबारीमा चितुवाको शव भेटिएको थियो । चितुवाको पछाडिको खुट्टा छुट्टिएको र पेट फुटेको अवस्थाको थियो । मृत चितुवाको टाउकोमा चोटपटक लागेको अवस्थामा थियो । स्थानीयका अनुसार मृत चितुवाको अवस्था हेर्दा ठूलो चितुवाले आक्रमण गरि मारेको हुन सक्ने आशंका गरिएको छ । केही महिना यता टीकापुर नगरपालिका वडा न ७ र ८ मा बाघ र चितुवाको आतंक जारी छ । चितुवा र बाघले स्थानीयका घरपालुवा जनावर खानेको गरेको छ ।दैनिक रुपमा बाघ र चितुवा गाउँ पस्न थालेपछि स्थानीयमा त्रासमा छन् । कुन दिन बाघले मानिसलाई आक्रमण गर्ने हो चिन्ताको विषय बनेको टीकापुर-७ का स्थानीय महेश रावलले बताए ।