अब महिला सहभागिता निर्णायक हुुनुपर्छ : पूर्व उपसभामुख सुवेदी
नेपालगन्ज : संविधानसभाकी पूर्व उप-सभामुख पूर्णाकुमारी सुवेदीले सहभागिता मात्र नभएर अब महिलाको निर्णायक सहभागिता हुनुपर्नेमा जोड दिएकी छन् ।
क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको सण्डे कल्बमा पूर्व उपसभामुख सुवेदीले राजनीति मात्र नभएर राज्यका हरेक निकायमा महिलाको निर्णायक सहभागिता हुनुपर्ने बताएकी हुन् ।
संविधानले तोकेरै अधिकार दिँदा पनि महिलाले नपाउनु दुःखद भएको बताउँदै उनले संविधानले महिलाको नेतृत्व तोकेरै पठाएको भए पनि व्यवहारिक कार्यान्वयनमा जटिलता रहेको अनुभव सुनाइन् । उनले तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको १० वर्षे जनयुद्धको अनुभव पनि कार्यक्रममा सुनाएकी थिइन्् । युद्धको बेला गोली कानको छेउबाटै जाँदा समेत नडराएर मोर्चा सम्हाल्दाको क्षण सुनाउएदा उनी भावुक भइन् ।
२०१५ सालमा जन्मेकी सुवेदी २०३४ सालदेखि राजनीतिमा सक्रिय छिन्। नेपाल कम्युनिष्ट पार्टीमा निरन्तर सक्रिय छन् । उनी नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी सदस्य हुन् । बेलायत, भियतनाम, जर्मन, थाइल्याण्ड, चीन, स्पेन, फ्रान्स र भारत भ्रमणबाट सिकेको अनुभव पनि सुनाइन् ।
क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी र क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेलले सण्डे क्लबम आउने कुनै पनि व्यक्तिको संघर्षको कथाले समाजमा अरुलाई उत्प्रेरणा प्रदान गर्नुका साथै व्यवहारिक जीवनमा सफलता पाउन मद्दत मिल्ने बताए ।
डब्लुडब्लुजे बाँकेका अध्यक्ष गिरीले उदाहरणीय व्यक्तिबाट समाजमा उत्प्रेरणा प्रदान गर्नु ,नेतृत्व विकास गर्नु तथा समसामयिक समस्याका बिषयबस्तु माथि पैरवी गर्न सण्डे क्लबको उद्देश्य रहेको बताइन् ।