कन्या माविका कन्याका लागि प्रोजेक्ट पवित्र कार्यशाला
नेपालगन्ज : द आर्ट अफ लिभिङ बाँकेले नेपालगन्जमा सामुदायिक विद्यालयका छात्राका लागि प्रोजेक्ट पवित्र कार्यशाला आयोजना गरेको छ । नेपालगन्ज कन्या माध्यमिक विद्यालयसँगको सहकार्यमा महिनावारी स्वास्थ्य, स्वस्थता र खुसी सम्बन्धी तीन दिने प्रोजेक्ट पवित्रा तालिम दिएको हो । यो तालिम नेपालगन्जमा पहिलो पटक आयोजना गरिएको हो । यसअघि गत असारको तेस्रो साता कोहलपुरको त्रिभुवन माविका छात्राका लागि यस्तो कार्यशाला आयोजना गरिएको थियो ।
तालिममा द आर्ट अफ लिभिङका स्वयंसेवकहरु सुशीला थारु र पूजा अधिकारीले सहजीकरण गरेका थिए ।
आयुर्वेदमा मासिक धर्मबारेको ज्ञान, किशोरी र महिलाहरुले नियमित सन्तुलित आहारको प्रयोग, पत्रु खाना खान नहुने, नियमित ब्यायाम गर्नुपर्ने, महिनावारीका बेला हुने समस्या, समाजमा महिनावारी सम्बन्धी अन्धविश्वास, महिनावारी स्वास्थ्य, स्वस्थता र महिनावारी समस्या समाधानका उपायहरु सिकाइएको सहजकर्ता थारुले जानकारी दिइन् । तालिममा योग, ध्यान र प्राणायाम पनि गराइएको थियो । तालिममा विद्यालयका कक्षा ८ का २१ जना छात्राको सहभागिता रहेको कन्या माविका प्रधानाध्यापक यशोदा नेपालीले जानकारी दिइन् ।









