बालसुधार गृहमा आर्ट अफ लिभिङको युवा नेतृत्व प्रशिक्षण कार्यक्रम
भक्तपुर : द आर्ट अफ लिभिङले भक्तपुरको बालसुधार गृहमा आयोजना गरेको ८ दिने युवा नेतृत्व प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
तालिम समापनको अवसरमा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा द आर्ट अफ लिभिङ नेपालका एपेक्स मेम्बर भवानी राणाले सकारात्मक सोचका साथ अघि बढ्न सहभागिलाई शुभकामना दिइन् । उनले भनिन्, ‘गल्ती सबैबाट हुनसक्छ । गल्तीबाट पाठ सिक्दै अघि बढ्न सके जीवन सुन्दर हुन्छ ।’
सो अवसरमा आर्ट अफ लिभिङ नेपाल कन्ट्री कोअर्डिनेटर देविका शाहले सिकेको ज्ञानलाई सदुपयोग गरे जीवनलाई सुन्दर बनाउन आग्रह गरेकी थिइन् । यसै क्रममा द आर्ट अफ लिभिङ नेपालका पूर्व कन्ट्री को-अर्डिनेटर मिसा माथेमाले सधैं, विद्यार्थी जस्तै बनेर सिक्दै जाँदा नयाँ कुरा सिक्दै जान सकिने र जीवनमा सफलता पनि मिल्ने सुझाव दिएकी थिइन् ।
त्यसैगरी आर्ट अफ लिभिङका प्रोग्राम कोअर्डिनेटर किशोर झाले हरेक सहभागिमा फरक फरक क्षमता रहेको भन्दै त्यही क्षमतालाई प्रस्फुटन गर्दै अघि बढ्न हौसला दिएका थिए ।
बाल सुधार गृह भक्तपुरका कार्यलय प्रमुख राजकुमार पोखरेलले सहभागीको अनुभव सुनेर आफू निकै प्रभावित र खुसी भएको प्रतिक्रिया दिए । समापनको अवसरमा सहभागीहरुले अनुभव सुनाउँदै पहिले धेरै सोचिरहने, जीवन जीउन पनि मन नलाग्ने तर तालिमपछि आत्मविश्वास बढेर जीवनमै परिवर्तन भएको प्रतिक्रिया दिए । उनीहरुले समाजमा फर्केर परिवार, समाज र राष्ट्रको नेतृत्व लिने प्रतिबद्धता जनाएका थिए । उनीहरुले मानसिक तथा समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव परेको बताएका थिए । आर्ट अफ लिभिङका प्रशिक्षक काव्य लम्सालले सहजीकरण गरेको तालिममा ६८ जना किशोर र २१ जना किशोरले प्रमाणपत्र पनि प्राप्त गरेका थिए ।

आध्यात्मिक गुरु श्री श्री रविशंकरद्वारा स्थापित द आर्ट अफ लिभिङ फाउण्डेशनन विश्वको १८४ देशमा सेवाका कार्य गरिरहेको छ । कार्यक्रमा योग, ध्यान, सुदर्शन क्रियाको साथै नेतृत्व लिने कला, बोल्ने अभ्यासका विभिन्न प्रयोगात्मक अभ्यास गरिन्छ ।








