जुँगे महादेवको अष्टधातुको मूर्ति राखियो

नेपालगन्ज : शक्तिपीठ बागेश्वरी परिसरको तलाउमाथिको रहेको शिव मन्दिरमा जुँगे (खडेश्वर) महादेवको अष्टधातुको मूर्ति राखिएको छ ।
कामिका एकादशी अर्थात साउन महिनाको पहिलो सोमबारका अवसरमा जुँगे महादेवको मूर्तिको प्राण प्रतिष्ठा गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट र बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद अधिकारी मुख्य कर्ता बनेर हिन्दू वैदिक विधि र परम्परा अनुसार प्राण प्रतिष्ठा गरेका थिए । प्रतिनिधिसभा सदस्य तथा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष डा.धवल शम्शेर राणा पनि पूजापाठमा सरिक थिए ।

सोही अवसरमा नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले जुँगे महादेवको जिर्णोद्वार गरिएको मन्दिर, मन्दिर जान बनाइएको पुल, पूजाघर र घाटको उद्घाटन गरेका थिए । उपमहानगरपालिकाले एक करोड नौ लाख रुपैयाँको लागतमा जुँगे महादेवको मन्दिर जिर्णोद्वार गरेको थियो । मन्दिर जिर्णोद्वार भएपछि साढे सात दशक
पूरानो खण्डित अवस्थामा रहेको जुँगे महादेवको मूर्तिको सट्टा उपमहानगरपालिका, बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति र भक्तजनको आर्थिक सहयोगमा मन्दिरको छानोमा सात फिट लामो पित्तलको त्रिशुल थपेर र अष्टधातुको जुँगे महादेवको मूर्ति निर्णाण गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

२००८ सालमा बडाहाकिम प्रकाश शम्शेर राणाले विश्वमै कहिँ नभएको खडेश्वर जुँगे महादेवको मूर्ति बनाउन लगाएको कुरा गुठी समितिले प्रकाशित गरेको शक्तिपीठ बागेश्वरी नामक पुस्तकमा उल्लेख छ ।
गुठी संस्थानले भर्खरै मात्र गोपालप्रसाद अधिकारी अध्यक्ष, ओमप्रकाश आजाद सचिव, मधुसूदन शर्मा कोषाध्यक्ष, उमा थापा मगर र सुनिलसिंह हमाल सदस्य रहेको पाँच सदस्यीय बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति गठन गरेको थियो । गुठी समितिमा नेपालगन्ज २ का वडाध्यक्ष, मालपोत तथा भूमिसुधार कार्यालय, जिल्ला प्रशासन कार्यालय पदेन सदस्य रहने व्यवस्था छ ।
सोमबार नै गुठी व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष डा.धवल शम्शेर राणाले नवनियुक्त अध्यक्ष अधिकारीलाई शक्तिपीठ बागेश्वरीको लकरको साँचो बुझाएर जिम्मेवारी हस्तान्तरण गरेका थिए । गुुठीले पूराना तिजौरी खोल्दा भेटिएका सुन चाँदी लगायतका धातु, गरगहना नेपाल बैंक लिमिटेडको लकरमा राखेको छ ।

हटाइयो शिलालेख
जुँगे महादेवको मन्दिर उद्घाटनका क्रममा नेपालगन्ज उपमहानगरपालिकाले राखेको शिलालेख भक्तजनको विरोधपछि हटाइएको छ ।
जुँगे महादेवको मन्दिरको मूल ढोकामा उपमहानगरपालिकाले नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, २३ वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यको नामावली राखेको भनेर सामाजिक सञ्जालमा चौतर्फी विरोध भएपनि सोमबार अपरान्हतिर शिलालेख हटाइएको थियो । हिन्दु धर्मसँग असम्बन्धित गैरहिन्दु जनप्रतिनिधिहरुको नाम राखेर मन्दिरमा राजनीतिकरण गरिएको भन्दै आलोचना भएको थियो । शिलालेखमा उपप्रमुख, वडाध्यक्ष र कार्यपालिकासहित ५ जना मुस्लिम जनप्रतिनिधिको नाम उल्लेख थियो । बागेश्वरी मन्दिर परिसरमा जुँगे महादेवको अष्टधातुको मूर्ति राखिएको उत्सवमा सोमबारको महाआरती पनि निकै नै उत्साहपूर्ण भएको थियो ।