नेपालगन्ज-दिल्ली उडान भारत भ्रमणको एजेण्डा बनाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता
नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालगन्ज दिल्ली सिधा हवाइ उडानलाई भारत भ्रमणको एजेण्डा बनाउने प्रतिबद्धता जनाएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष टंकबहादुर धामी संयोजक रहेको नेपालगन्ज दिल्ली हवाइ उडान दवाब समूूहले बाँके र बर्दियाका प्रतिनिधिसभा सदस्य, स्थानीय तह प्रमुख, राजनीतिक दल, नागरिक समाज, उद्योगी–व्यवसायी सम्मिलित २० सदस्यीय प्रतिनिधि मण्डलले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउँदा यस्तो प्रतिबद्धता जनाएका हुन् ।
‘म नेपालगन्ज दिल्ली सिधा हवाइ एजेन्डा बोकेर जान्छु । मोदी जीले के गर्नुहुन्छ ?’, भेटपछि प्रधानमन्त्री ओलीको भनाइ उद्दृत गर्दै संयोजक धामीले भने, ‘सम्माननीय प्रधानमन्त्री ओली हाम्रो मागप्रति सकारात्मक हुनु भएको छ । भारत भ्रमणको एजेण्डामा नै समेट्छु भन्दा हामी निकै आशावादी भएका छौं ।’
दवाब समूहले सोमबार नै परराष्ट्र मन्त्री आरजु राणा र पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेलाई पनि ज्ञापन पत्र बुझाएको थियो । परराष्ट्र मन्त्री मन्त्री राणा र पर्यटन मन्त्री पाण्डेले पनि दुई देशका मन्त्रालयबीच नेपालगन्ज दिल्ली सिधा हवाइ उडानबारे छलफल गर्ने प्रतिबद्धता जनाएका थिए । नेपालगन्ज दिल्ली सिधा हवाइ उडानका लागि बाँकेमा राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी सबै एकमतका साथ ऐक्यबद्धता जनाएका छन् ।